Logo

दोस्रो खण्डको डिजाईन नआउँदा चक्रपथ विस्तारमा ढिलाई, अन्यौलमा आकाशेपुल निर्माण

दोस्रो खण्डको डिजाईन नआउँदा चक्रपथ विस्तारमा ढिलाई, अन्यौलमा आकाशेपुल निर्माण



काठमाडौं । डिजाईनको काम नसकिदा चक्रपथ विस्तार आयोजना अन्तरर्गतको दोस्रो खण्डमा पर्ने कलंकी महाराजगंज खण्डको काममा ढिलाई भएको छ ।

चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सनले हालसम्म पनि डिजाईन तयार गरेर उपलब्ध नगराएकोले निर्माणकार्य सुरु गर्न ढिलाई भएको आयोजनाका प्रमुख प्रकाश भण्डारीले जानकारी दिएका छन । साथै डिजाईन उपलब्ध नहुँदा सो क्षेत्रका घरटहरा, विजुलीका पोल तथा खानेपानीको ढलका लागि ओछ्याइएका पाईपहरु निकाल्ने काम समेत गर्न नसकिएको उनको भनाई थियो ।

घरटहरा हटाउन र सो खण्डमा आवश्यक जग्गा कब्जामा लिनका लागि पेस्कि स्वरुप जग्गा धनी र विद्युत प्राधिकरण सँग सम्झौता भए पनि डिजाईन ढिला हुँदा काम अगाडी बढाउन कठिन भएको हो ।

पैसा पनि बाँडिसकेको हुनाले काम छिट्टै संचालनमा ल्याउन सकिन्छ । तर चिनियाँ पक्षले तयार पार्ने भनेको उक्त खण्डको डिजाईन तयार नहुँदा काममा ढिलाई भएको हो । चिनियाँ पक्षले डिजाईन तयार पार्दै गरेको जानकारी दिएको ईन्जिनियर निरञ्जन शर्मा अर्यालले बिजखबरलाई बताए ।

कोटेश्वर कलंकी खण्डको काम अन्तिम चरणमा पुगेसँगै तिव्र

चक्रपथ सुधार आयोजना अन्तरगतकै पहिलो खण्ड मानिएको कोटेश्वर कलंकी खण्डको भने काम तिव्र पारिएको छ । आउने डिसेम्बर १५ सम्मको डेटलाईन रहेको सो खण्डमा हाल फिनिसिङको काम भईरहेको छ ।

बल्खु कलंकी खण्डमा भने पिच गर्ने काम भईरहेको छ । यस्तै कोटेश्वर देखि बल्खुसम्मको आधिकारिक काम सकिसकेको र फिनिसिङ अन्तरगत एज मार्किङ, कार्भ स्टोन, फुटपाथ, डिभाईडर राख्ने लगायतका काम भईरहेको ईन्जिनियर शर्मा अर्यालले जानकारी दिए ।

उनका अनुसार हाल सामान्य रुपमा सवारीसाधनहरु गुडेपनि पुर्ण रुपमा हस्तान्तर गर्ने अवधिसम्ममा सबै किसिमका कामहरु सिध्याई उक्त खण्ड चिटिक्क पारेर नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ ।

आकाशे पुलको काम अन्यौलमै

कोटेश्वर कलंकी सडकखण्ड अन्तरगत विभिन्न ७ ओटा ठाउँमा निर्माण गर्ने भनिएका आकाशेपुलको काम अन्यौलमा छ ।

चिनियाँ कम्पनीले उक्त खण्डको ३ स्थानमा बनाउने भनेको पुलको काम शतप्रतिशत गरिसकेको भएपनि नेपाल सरकारको पक्षबाट भने ७ ओटा पुलको जम्मा २० प्रतिशत मात्रै फाउन्डेसनको काम भएको छ ।

विभिन्न कारण देखाउँदै काममा ढिलाई गरिरहेको नेपाल सरकारले उक्त पुलहरुको काम भने केहि दिनमा सुरु गर्ने जानकारी दिएको छ ।
सडक विभागले भने उक्त कामको लागि मनसुने डिस्टर्व गरिरहेको जानकारी दिँदै अव काममा तिव्रता दिइएको बताएको छ ।

नेपाल सरकारसँग उक्त सडकखण्ड अनुदानमा निर्माण गर्ने सम्झौता गरेको चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सनले आफ्नो जिम्माका ३ ओटा आकाशेपुलको काम शतप्रतिशत सकिएको छ ।

आयोजना प्रमुख भन्डारीका अनुसार हाल फाउन्डेसनको काम सकाउन २ देखि ३ महिना लाग्नेछ । त्यसपछि काम पुन तिव्र गरिँदै पुलको काममा पुर्णता ल्याउने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL