Logo

३ लाख घरको पुनर्निर्माण सम्पन्न, १ खर्ब ४८ अर्ब अनुदान वितरण

३ लाख घरको पुनर्निर्माण सम्पन्न, १ खर्ब ४८ अर्ब अनुदान वितरण



काठमाडौं । भूकम्प गएको करिब ३ वर्ष पछि २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको छ ।

करिब ५ लाख ५५ हजार ६ सय १२ निजी आवास पुनर्निर्माण कार्य सुरु भएका मध्ये हाल सम्ममा करिब ३ लाख घर र्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको तथ्यांक अनुसार बाँकी २ लाख ५९ हजार ९८ घर भने पुनर्निर्माणको चरणमा रहेको छ ।

कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण सम्पन्न भएका घरको संख्या करिब साढे ३ लाख पुग्न सक्ने प्राधिकरणको अनुमान रहेको छ ।

प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले भने इन्जिनियर सहितको प्राविधिक टोली स्थानीय तहमा पठाउन लागिएको जानकारी दिएका छन । उक्त टोली स्थानीय तहमा पुगे पछि पुनर्निर्माण भईरहेका घरहरु सम्पन्न गर्न सहयोग पुग्ने प्राधिकरणको अपेक्षा रहेको छ ।

‘अभियानका रुपमा निजी आवास पुनर्निर्माणलाई अघि बढाउन लाभग्राही, स्थानीय तह, राजनीतिक दलदेखि सबैको सहयोग जरुरी छ’, उनले भने ।

भूकम्पबाट क्षति भएका घरमध्ये अनुदान सम्झौता सम्पन्न गर्ने लाभग्राहीको संख्या ७ लाख २३ हजार ७ सय २८ रहेको छ । त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ५ लाख ३ हजार ३६ पुगेको छ । २ लाख ६६ हजार ९ सय ४ जना लाभग्राहीले भने तेस्रो किस्ता बुझिसकेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार गुनासो सम्बोधनपछि कुल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख १० हजार ६ सय ९० पुगेको छ । त्यस्तै, प्रवलीकरणको सूचीमा परेका लाभग्राहीको संख्या ६१ हजार ८ सय ९१ पुगेको छ ।

जिल्लागत रुपमा पुननिर्माण सम्पन्न भएका घरको संख्याः

सिन्धुपाल्चोक ४९,५४०, दोलखा ४४,४६१, गोरखा ३६,४९०, धादिङ ३५,६६१, नुवाकोट २८,१५०, रामेछाप २३,७३४, काभ्रेपलाञ्चोक २०,७५२, सिन्धुली ११,११०, ओखलढुङ्गा १०,७८७, ललितपुर ३,४५५, भक्तपुर ५,५३०, काठमाडौं ७,४३८, रसुवा ८,५९१, मकवानपुर ८,३४६, खोटाङ १,१९१, सोलुखुम्बु ४३०, स्याङ्जा ५२०, गुल्मी ३१५, अर्घाखाँची १६ र लमजुङमा ७ रहेको छ।

१ खर्ब ४८ अर्ब अनुदान वितरण

भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५ सय १८ रुपैयाँ वितरण भएको प्राधिकरणले जानकारी दिएको छ ।

यसमध्ये १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार ४ सय ५१ रुपैयाँ आव २०७२÷७३ मा वितरण भएको थियो भने आव २०७३÷७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २ सय ५८ रुपैयाँ वितरण भएको थियो । त्यसैगरी, २०७४÷७५ मा ८८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८ सय ९ रुपैयाँ बराबरको आवास अनुदान वितरण गरेको प्राधिकरणले जानकारी दिएको छ ।

चालु आवका लागि प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख ३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये हालसम्म करिब १० अर्ब रुपैयाँ वितरण भइसकेको छ ।

गुनासो फस्र्यौटबाट थपिंदै लाभग्राही

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षण अन्तरर्गत सङ्कलित तथ्याङ्क विश्लेषण गरी १ लाख १८ हजार ७ सय ८० गुनासोको सुनुवाइ गरी नतिजा सार्वजनिक गरेको छ । भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार ४२ हजार ४ सय २२ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही सूचीमा परेका छन् ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार ३५ हजार ५ सय ५ घरधुरी प्रवलीकरण लाभग्राहीमा समावेश भएका छन् भने २८ हजार ५ सय ७४ गुनासोकर्ता लाभग्राही हुन अयोग्य देखिएका छन् ।

‘बाँकी गुनासोकर्ताको बारेमा थप पुष्टिका लागि स्थानीय तहमा पठाइएको छ । छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत बाँकी गुनासोको प्राधिकरणका प्राविधिकहरूद्वारा अध्ययन भइरहेको छ’, घिमिरले भने ।

प्राधिकरणले गत वर्ष स्थलगत रुपमा प्राविधिक इन्जिनियर परिचालन गरी छुट तथा पुनःजाँच सर्वेक्षणमार्फत १ लाख २९ हजार ४ सय ८ गुनासो संकलन गरेको थियो ।

त्यसैगरी, प्राधिकरणले प्रभावित १६ जिल्लाका २ सय ६३ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही र १३ सय ९५ गुनासोकर्तालाई प्रवलीकरण लाभग्राही कायम गरेको छ ।

३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अर्को स्थानमा बस्नयोग्य घर भए÷नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय समेत गरेको प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL