Logo

मौलिक स्वरुपमै सम्पदा बस्ती बनाइने, थप ५० हजार अनुदान दिइने

मौलिक स्वरुपमै सम्पदा बस्ती बनाइने, थप ५० हजार अनुदान दिइने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका सम्पदा बस्तीको पुनर्निर्माण गर्दा मौलिक स्वरुपलाई यथावत कायम राख्ने जानकारी दिएको छ ।

प्राधिकरणको शुक्रबार बसेको बैठकले काठमाडौं उपत्यका भित्रका खोकना, बुङमती, सांखु, किलागलजस्ता परम्परागत बस्तीहरु तथा उपत्यका बाहिरका नुवाकोट, गोरखादरबार क्षेत्र तथा दोलखाको भीमसेन बजारजस्ता क्षेत्रहरुमा परेका बस्तीहरुको पुनर्निर्माण गर्दा बस्तीको मौलिक स्वरुपलाई यथावत कायम गर्ने गरी पुनर्निर्माण गर्ने जानकारी दिएको छ ।

पुनःर्निर्माण गर्दा ति क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकास लगायतका पूर्वाधारहरुको पुनर्निर्माण गर्नका लागि सरकारले प्राधिकरणमार्फत् नै लगानी गर्ने निर्णय समेत गरेको छ । साथै सो क्षेत्रमा निजी आवास पुनर्निर्माण गर्नुपर्ने घरधनीहरुलाई मौलिक÷पुरातात्विक शैलीमा पुनःर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान समेत उपलब्ध गराउने भएको छ ।

प्राधिकरणको कार्यकारी समितिले २ वा सो भन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजहरुलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको संख्या गणना गरी अनुदान रकम उपलब्ध गराउने भएको छ ।

काठमाडौं उपत्यकाभित्रका बस्तीहरुमा लाभग्राही सूचीमा परेका घरहरुको पुनर्निर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने भएको छ ।

थप २३ सय गुनासोकर्ता पुनःर्निर्माण लाभग्राही सूचीमा

प्राधिकरण कार्यकारी समितिले थप २ हजार ३ सय ४५ जना गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राहीमा राखेको समेत जानकारी दिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३ हजार ३ सय ७९ गुनासो फर्छर्यौट गरेको छ ।

बैठकले ९ हजार ८ सय ३७ गुनासोकर्तालाई प्रबलीकरण लाभग्राहीमा सूचीकृत गरेको छ भने ८ सय ५९ गुनासोकर्तालाई संभावित लाभग्राहीमा कायम गरेको छ ।

समितिले १४ जिल्लाका अति प्रभावित ७ हजार ८ सय ८४ गुनासोकर्तालाई गैर लाभग्राहीमा राखेको छ । त्यस्तै प्रभावित १६ जिल्लाका ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अर्को स्थानमा बस्न योग्य घर भए÷नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने भएको छ ।

काठमण्डप पुनर्निर्माण

प्राधिकरणले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण सक्नेगरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।

शुक्रबार समितिका संयोजक तथा ३ नम्बर प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा बसेको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काष्ठमण्डपको काम योजनाबद्ध ढंगले तत्काल अघि बढाउन निर्देशन दिएका छन ।

पुनर्निर्माण कार्यको गुणस्तर कायम गर्नकालागि समयमा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण गराउन समेत ज्ञावलीले सुझाव दिएका छन ।

संयोजक शाक्यले काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग गरिने सामग्रीको परीक्षण गरिएको र आगामी दिनमा पनि युनेस्को र पुरातत्व विभागको मापदण्ड अनुरुप परीक्षण गरिने बताएका छन ।

काण्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक सबै रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउनेछ भने पुरातत्व विभागले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

संयोजक शाक्यले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण सक्न आफुले यही मंसीर देखीनै काम शूरु गर्ने बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL