Logo

नेपाली गाडीले सिगात्सेबाटै समान ढुवानी गर्न पाउने, तोडियो ड्राईभरको कार्टेलिङ

नेपाली गाडीले सिगात्सेबाटै समान ढुवानी गर्न पाउने, तोडियो ड्राईभरको कार्टेलिङ



काठमाडौं । नेपाली सवारीसाधनले चीनको सिगात्सेबाटै मालसामान ढुवानी गर्न पाउने भएका छन् । नेपाल र चीनबीच पारवहन तथा ब्यापार प्रोटेकल सम्झौतामा बिहीबार राती समझदारी भएसँगै अबका दिनमा नेपाली नम्बर प्लेट भएका सवारीसाधनले पनि सिगात्सेसम्म गएर चीन तथा तेस्रो मुलुकबाट आयात भएका मालसामान ढुवानी गर्न पाउने भएका हुन् ।

यस अघि नेपाली सवारीसाधनले तातोपानी नाका तथा केरुङ नाकाबाट मात्र मालसामान ढुवानी गर्दै आएको थियो । तर, भुकम्प पश्चात तातोपानी नाका बन्द छ । तर, अबका दिनमा नेपालले चीनसँगको ६ वटा नाकाबाट मालसामान ढुवानी गर्न पाउने छ भने आफुलाई पाएक पर्ने यातायात रुट तथा बन्दरगाहहरु प्रयोग गर्न पाउने भएको छ ।

हाल नेपाल र चीनबीच हुने पारवहन सम्झौताको प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिईएको विशेष कार्यक्रमबीच हस्ताक्षर गरी औपचारिक रुपमा उद्घाटन गरिने उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादवले जानकारी दिए । ‘आज सम्म नेपालको आयात नियार्त गर्नका लागि कुनै एउटा देशसँगमात्र निर्भर पर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘अब अन्य नाका पनि खुलका छने भने एउटा देशसँगको मात्र एकाधिकार तोडिएको छ ।’

सहमति अनुसार चीनले नेपाललाई सबै खालका सामुन्द्रिक तथा सुख्खा बन्दरगाह उपलब्ध गराउने भएको छ । तर, तत्कालका लागि नेपालले आफुलाई पायक पर्ने ४ वटा सामुन्द्रिक र ३ वटा सुख्खा बन्द प्रयोगमा ल्याउने भएको छ । नेपालले प्रयोग गर्ने सामुन्द्रिक बन्दरगाहमा तियान्जेन, सेनजेन, लियानयुगाङ र झाङ्गजियाङ्ग हुने भने सुख्खा बन्दरगाहतर्फ लान्जायो, ल्हासा र सिगात्से रहेका छन् । साथै नेपालले सामान ढुवानी गर्दा चीनका रेल, बन्दरगाह र इन्ल्याण्ड वाटरवेज तथा अन्य यातायातको माध्ययम प्रयोग गर्न पाउनेछ ।

ढुवानीका हिसावले तत्कालका लागि नेपाल र चीनबीचको सबैभन्दा नजिकको दूरी सिगात्से पर्ने भएकाले सो स्थानसम्म नेपाली सवारीसाधन गएर सामान लोडगरी ल्याउन सक्ने व्यवस्था गरिएकोम मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी चीनले नेपाललाई ६ वटै नाकालाई अन्तरराष्ट्रिय ब्यापारको रुपमा उपलब्ध गराउने भएको छ । जसअनुसार नेपालतर्फका रसुवा, कोदारी, किमाथाङ्का, चेजुङ्ग, यारी र ओलाङ्गचुङगोला नाकालाई अन्तरराष्ट्रिय नाकाको रुपमा प्रयोगका ल्याउन सक्ने भएको छ ।

यो समझदारीसँगै केरुङ्ग नाकाबाट सामान ढुवानी गर्दा स्थानीय सवारीचालकलाई प्रयोग गर्नुपर्ने व्यवस्था पनि हट्ने भएको छ । यस अघि स्थानीय ड्राईभरले कार्टेलिङ गर्दै केरुङ्ग नाकाबाट चीनतर्फ सामान ढुवानी गर्दा रसुवाका स्थानीय सवारीचालकलाई मात्र प्रयोग गर्नुपर्ने बाध्यकारी नियम बनाएका थिए । तर, अबकार दिनका देशभरका ड्राईभरले उक्त नाकाबाट सवारीसाधन चलाएर मालसामान ढुवानी गर्न सक्ने मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी उक्त सम्झौतालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन दुई देशबीच सचिव स्तरीय संयुक्त परामर्श समिति र सहसचिव स्तरीय संयुक्त परामर्श उपसमिति समेत गठन गरिने भएको छ । सोही समिति पारवहन प्रोटोकल सम्झौतालाई कायान्यनमा ल्याउन प्रभावकारी भुमिका निर्वाह गर्नेछ ।

दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहँदा दुई देशबीच पारवहन तथा व्यापार सम्झौता भएको थियो । गत असारमा प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा उक्त सम्झौता कार्यान्वयन गर्ने कार्यविधिमा हस्ताक्षर हुने भनिए पनि पर्याप्त तयारी नपुगेको भन्दै आगामी असोज १५ गतेभित्र यसलाई टुङ्ग्याउने सहमति भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL