Logo

धरहरा पुनर्निर्माणमा जिआइइटिसी–रमन जेभीको ३ अर्ब ४५ करोड लागत प्रस्ताव, दुई हप्ताभित्रै सम्झौता

धरहरा पुनर्निर्माणमा जिआइइटिसी–रमन जेभीको ३ अर्ब ४५ करोड लागत प्रस्ताव, दुई हप्ताभित्रै सम्झौता



काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ ।
आइतबार प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन रहेको छ । यो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ । भुकम्पमा भत्किएको धरहरा पुनर्निर्माणका लागि प्राधिकरणले बैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो ।

जसमा सिआइसिओ–कालिका–रसुवा जेभी, जिआइइटिसी–रमन जेभी, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभी, आशिष कन्ट्रक्सन र कुमार सिएफइसी गरी ६ कम्पनीले आवेदन दिएका थिए । सोमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको थियो ।

धरहरा पुनर्निर्माणका लागि आर्थिक प्रस्ताव पेश गर्ने अन्य कम्पनीमा सिआइसिओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी–लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका छन् ।

प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भइरहेको छ । आशयपत्रका लागि एक हप्ताको समय दिई त्यसको दुई हप्तामा सम्झौता गरिने समेत उनले जानकारी दिए । आर्थिक प्रस्ताव ठिक भएको अवस्थामा धरहरा निर्माणको जिम्म जीआईटिधी–रमन जेभीले नै पाउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL