Logo

पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित, हालसम्म ओछ्याइयो १५ किमि

पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित, हालसम्म ओछ्याइयो १५ किमि


रासस
27
Shares

काठमाडौं । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ ।

नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७० किलोमिटर लम्बाइ पाइपलाइन ओछ्याउने काम अत्यधिक वर्षापछि हालसम्म १५ किलोमिटर क्षेत्रमा मात्र सम्पन्न भएको छ ।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए । त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम शुरु भएको हो ।

सत्तरी किलोमिटर लम्बाइ भएको सो पाइपलाइन २ अर्ब ७५ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ । भारतको २ अर्ब तथा संघीय सरकारको ७५ करोड रुपैयाँ लगानी रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ । नेपालतर्फ भारतीय सीमा रक्सौलदेखि अमलेखगञ्जसम्म ३६ दशमलव २ किलोमिटर भूभागमध्ये हालसम्म १५ किलोमिटर क्षेत्रमा पाइप जमिन मुनि राख्ने काम सम्पन्न भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराका इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिए ।

वर्षाका कारण खनिएको खाल्डोमा पानि भरिनुका साथै सडक विभागले सडक निर्माण गरिरहेका कारण हाललाई सो काम अगाडि बढ्न नसकेको उनको भनाई छ । जितपुर बजार र परवानीपुर बजारमा तथा रजतजयन्ती चोकदेखि गण्डकसम्म एक किलोमिटर क्षेत्रमा उक्त काम बाँकी रहेको छ ।

पथलैयादेखि अमलेखगञ्जसम्मको ८ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज भएर पाइपलाइन ओछ्याउनु पर्ने भएकाले निकुञ्जभित्रका ५ हजार रुख काट्नुपर्ने अवस्था छ । रुख काट्न संघीय सरकारले स्वीकृति दिइसकेकाले वातावरणीय मूल्यांकन प्रभावबारे सूचनासमेत प्रकाशित गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलाई स्वीकृति दिएपछि रुख काट्ने अनुमति मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र रुख काट्ने काम अघि बढ्ने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए । पाइपलाइन बिछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखगञ्ज आयल निगमको डिपोमा ३ हजार ९ सय किलोलिटर क्षमताका २ तथा ४ हजार १ सय किलोलिटर क्षमताका दुईवटा टयांकरको मर्मत भइरहेको छ ।

१ वर्ष्भित्र निर्माण गर्ने लक्ष्य लिएको सो पाइपलाइन निर्माण सम्पन्न भएपछि प्रतिघन्टा २ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिने छ । पाइपलाइन सञ्चालनमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा रहँदैआएको जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता समेत हट्ने विश्वास लिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL