Logo

५६ प्रतिशत भुकम्पपिडीतले पाए दोस्रो किस्ता, ४ लाख ८१ हजार घर पुनर्निर्माण हुँदै

५६ प्रतिशत भुकम्पपिडीतले पाए दोस्रो किस्ता, ४ लाख ८१ हजार घर पुनर्निर्माण हुँदै


रासस
0
Shares

काठमाडौं । हालसम्म ५६ प्रतिशत भुकम्पपिडीतले दोस्रो किस्ताको अनुदान रकम लिएका छन । हालसम्म अनुदान सम्झौता गरेका ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीमध्ये ४ लाख २ हजार ६ सय १३ लाभग्राहीले दोस्रो किस्ता लिएका हुन । हाल ४ लाख ८१ हजार ४ घरको पुनःनिर्माण शुरु भएको छ ।

दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ४ लाख ३५ हजार ३ सय ४० पुगिसकेको छ । पहिलो किस्ता लिने लाभग्राहीको संख्या ७ लाख १० हजार ४३ पुगेको छ ।

दोस्रो किस्ता लिने समयावधि असार मसान्त नजिकिएकाले पनि घर निर्माण शुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा बढोत्तरी भइरहेको छ ।

निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलब्धताका कारण घर निर्माण शुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्यामा तीव्रता आएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

दोस्रो एवं तेस्रो किस्ता लिएर घर पुनःनिर्माण गर्ने लाभग्राहीको संख्यासँगै पुनःनिर्माण सम्पन्न र पुनःनिर्माण भइरहेका घरको संख्या पनि बढेको छ । बिहीबारसम्मको तथ्यांकअनुसार पुनःनिर्माण शुरु भएका चार लाख ८१ हजार चार घरमध्ये एक लाख ६२ हजार १ सय ८९ घरको पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

जिल्लागत रुपमा हालसम्म सबैभन्दा धेरै सिन्धुपाल्चोकका ६८ हजार ३ सय ११ लाभग्राहीले दोस्रो किस्ता पाएका छन् । भूकम्पले सबैभन्दा बढी घर सिन्धुपाल्चोकमा भत्किएका थिए ।

तेस्रो किस्ता लिने लाभग्राहीको संख्यामा पनि वृद्धि भइरहेको छ । तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या १ लाख ७४ हजार २ सय ८ पुगेको छ । तीमध्ये १ लाख ३७ हजार ७ सय ३१ ले तेस्रो किस्ता लिइसकेका छन् ।

भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार पाउँछन् । तेस्रो किस्ताबापत १ लाख पाउने कार्य्विधि छ । अनुदान सम्झौता गरेपछि पहिलो किस्तामा ५० हजार दिइन्छ । पहिलो किस्ताको अनुदानले पीडितले घरको जग निर्माण गरेपछि इन्जिनियरले जाँच गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण गर्छन् ।

प्राधिकरणले पछिल्लो समय गुनासो सुनुवाईलाई पनि तीव्रता दिएको छ । सुनुवाईबाट छनोट भएका पीडितलाई पुनःनिर्माण लाभग्राहीमा समावेश गरिरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जेठ महिनाभित्र गुनासो सम्बोधन गरी ७ हजार ४ सय २२ पुनःनिर्माण लाभग्राही थप गरेको छ ।

हालसम्म लाभग्राही सूचीमा परेका पीडितको संख्या ७ लाख ७५ हजार १ सय २७ पुगेको छ । यसैगरी प्रवलीकरण सूचीमा सूचीकृत भएका लाभग्राहीको संख्या २९ हजार ४ सय ९३ पुगेको सहप्रवक्ता घिमिरेले बताउँछन ।

पौने ८ लाख लाभग्राहीमध्ये बिहीबारसम्म ७ लाख १८ हजार ९ सय ३ ले अनुदान सम्झौता गरेका छन् । तेस्रो किस्ताका लागि प्रमाणीकरण हुनेको संख्या एक लाख ७४ हजार २ सय ८ पुगेको छ । एक लाख ६२ हजार १ सय ८९ घर पुनःनिर्माण सम्पन्न भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL