Logo

प्राधिकरण र गाउँपालिका महासंघबीच छलफल, लाभग्राहीलाई अनुदान रकम लिनै सकस

प्राधिकरण र गाउँपालिका महासंघबीच छलफल, लाभग्राहीलाई अनुदान रकम लिनै सकस



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गाउँपालिका महासंघ बीच सोमबार छलफल भएको छ । पुनर्निर्माणका क्रममा स्थानीय स्तरमा देखिएका विभिन्न समस्याबारे सोमबार छलफल भएको प्राधिकरणले जानकारी दिएको छ ।

गाउँपालिका महासंघका अध्यक्ष एवं सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भूकम्प प्रभावितले पाउने भनिएको धितो जमानी वा सामूहिक जमानी एवं सहुलियत पूर्ण ऋण पाउन कठीन भएको बताएका छन ।

साथै सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीमा रहेका लाभग्राहीलाई सुरक्षित स्थानमा स्थानतरण गर्ने प्रक्रियालाई तीव्र पार्न समेत श्रेष्ठले प्राधिकरणलाई आग्रह गरेको छ ।

महासंघका महासचिब बंशलाल तामाङले जिल्लामा १९ वटा नयाँ भवनहरु बनिरहेको जानकारी गराउँदै टेण्डर भए पनि काम शुरु नभएका भवनहरुको निर्माण स्थगित गरी स्थानीय तहमा मिलाउन प्राधिकरणलाई आग्रह गरेको छ ।

त्यसतै बैंकमा अनुदान रकम पुगे पनि लाभग्राहीलाई समयमै उपलब्ध गराउन नसकेको महासंघकी केन्द्रीय सदस्य दीपा बोहराले बताएकी छिन ।

महासंघ प्रदेश नम्बर ३ का सदस्य पार्वती सुनुवारले भने विभिन्न स्थानमा स्कूल निर्माणमा ठेकेदारहरुले समयमै काम नगरेकोले त्यसको अनुगमनलाई तिब्र बनाउनु पर्नेमा जोड दिएकी छिन ।

छलफलमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माणमा स्थानीय जनप्रतिनिधिहरुको अगुवाईलाई प्राधिकरणले प्राथमिकतामा राखेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL