Logo

सोलु करिडोरको काम समयमै सक्न प्राधिकरणको निर्देशन, ६ महिनाभित्रै राष्ट्रिय ग्रीड

सोलु करिडोरको काम समयमै सक्न प्राधिकरणको निर्देशन, ६ महिनाभित्रै राष्ट्रिय ग्रीड



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १ सय ३२ केभी प्रसारण लाइनको काम समयमै सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले सोलुखुम्बुको तिंलामा निर्माणाधीन १३२/३३/११ केभी सव–स्टेसन र प्रसारण लाइनको स्थलगत निरीक्षण गरी काम सक्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएको हो ।

ठेकेदार कम्पनीले काममा ढिलाई गर्दा सोलु खोलामा निर्माणाधीन आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसक्दा खेर जाने भए पछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधन गर्न घिसिङलाई निर्देशन दिएका थिए ।

मन्त्रीको निर्देशनपछि घिसिङको टोली स्थलगत निरीक्षणको लागि सोलु पुगेको थियो ।

साथै प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधानका लागि ऊर्जा तथा वन मन्त्रालयलाई अवगत गराउने घिसिङले जानकारी दिए ।

कार्यकारी निर्देशक घिसिङले भने प्रसारण लाइन समयमै नबने प्राधिकरणले निजी आयोजनालाई तिर्नु पर्ने पेनाल्टी ठेकेदारबाट असुलने बताएका छन ।

सोलु खोलामा निजी क्षेत्रका २ सय १७ दशमलव ५ मेगावाटका ६ जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेको छ । त्यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३ दशमलव ५ मेगावाटको माथिल्लो सोलु आयोजनाको निर्माण अन्तिम चरणमा रहेको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियत ऋणमा निर्माण भइरहेको आयोजनाको काम २०१९ को मार्चमा सक्ने लक्ष्य राखिएको छ ।

तिंला–ओखलढुंगा–उदयपुर–मिर्चैया (सिराहा) ९० किलोमिटर प्रसारण लाइनमा आयोजनाले ३ सय ३ वटा टावर निर्माण गर्नु पर्नेछ । हाल सम्म ५० टावरको जग हालि सकेको छ भने ५ वटा टावरको निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख जनार्दन प्रसाद गौतमले बताएका छन ।

प्राधिकरणले करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि माथिल्लो सोलुको विद्युत जोड्नका लागि अस्थायी रुपमा ओखलढुंगाबाट ३३ केभी प्रसारण लाइन निर्माण र तिंलामा ३३÷११ केभीको सव स्टेसन बनाइरहेको छ । यस आयोजनाको काम भने ६ महिना भित्रमा सकिने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताएका छन ।

६ महिनाभित्रमा सोलुमा राष्ट्रिय ग्रीड

प्राधिकरणले ६ महिनाभित्रमा सोलुमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने भएको छ ।

हाल सम्म सोलुमा राष्ट्रिय प्रसारण लाइन नजोडीएकाले ६ महिना भित्र राष्ट्रिय प्रसारण लाइन जोडन काम भईरहेको घिसिङले जानकारी दिएका छन ।

प्राधिकरणले ओखलढुंगाबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म ३३ केभी प्रसारण लाइन तानिरहेको छ । अहिले सल्लेरी च्याल्सा माइक्रो हाइड्रोपावरमार्फत सल्लेरीमा विद्युत आपूर्ति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL