Logo

काठमाडौंमा स्काइ रेल गुडाउन अध्ययन सुरु, ८७ अर्ब लागत अनुमान

काठमाडौंमा स्काइ रेल गुडाउन अध्ययन सुरु, ८७ अर्ब लागत अनुमान


रक्षा रेग्मी
54
Shares

काठमाडौं । काठमाडौंमा स्काई रेल सञ्चालन गर्न अध्ययन प्रक्रिया सुरु गरिएको छ । स्काई रेल सञ्चालनको सम्भावना देखिएपछी काठमाडौं मोनोरेल प्रालिले विस्तृत परियोजना अध्ययन गर्न सुरु गरेको काठमाडौं महानगरपालिकाका सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

कम्पनीले स्काई रेल निर्माणका लागि लाग्ने खर्च, समय लगायत विषयमा विस्तृत अध्ययन गरेर महानगरपालिकालाई प्रतिवेदन बुझाउने छ । प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइने काफ्लेले बताए ।

स्काई रेल निर्माणका लागि ८७ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । तर अध्ययन प्रतिवेदन आएपछी मात्र लागतको स्पष्ट जानकारी प्राप्त हुने उनले जानकारी दिए । कम्पनीले स्टेशनको संख्या, सडक संरचनाका बारेमा पनि अध्ययन गर्नेछ ।

महानगरपालिकाले एक महिना अघि सो कम्पनीलाई विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) को जिम्मा दिएको हो ।

काठमाडौं महानगपालिकाले ललितपुर महानगर र अन्य छिमेकी नगरसँगको समन्वयमा स्काई रेल सञ्चालन गर्न लागेको हो ।  लागत बढी लाग्ने भएकोले महानगरपालिकाले अन्य निकायसँग पनि समन्वय गरी स्काई रेल निर्माण कार्य अघि बढाउने तयारी गरेको काफ्लेले बताए ।

यसअघि साइमिक्स इंक प्रालिलाई काठमाडौं महानगरपालिकाले स्काइ रेल सञ्चालन सम्भाव्यता अध्ययनको जिम्मा दिएको थियो ।  प्रतिवेदन अनुसार महानगर क्षेत्रमा स्काइ रेलको सम्भावना अध्ययन गर्दा तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म सञ्चालन गर्न सकिने सम्भावना देखिएको हो ।

त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काईरेल सञ्चालन गर्न सकिने देखिएको छ ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्छ । त्योे सम्पन्न गर्न २ वर्ष समय लाग्नेछ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ । रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ । तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL