Logo

टिआइएको मल्टिस्टोरी पार्किङ सञ्चालनमा ढिलाई, अझै २ महिना लाग्ने

टिआइएको मल्टिस्टोरी पार्किङ सञ्चालनमा ढिलाई, अझै २ महिना लाग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलको मल्टिस्टोरी पार्किङ सञ्चालनमा ढिलाई हुने भएको छ । तिहार लगतै सञ्चालनमा ल्याइने भनिए पनि हालसम्म टिआइएको अराइभलबाट पार्किङ निस्कने बाटो ‘लिंक’ को निर्माण कार्य सम्पन्न नभएकोले सञ्चालनमा नआएको रसुवा केडी भेन्चरका संचालक दिपक मलहोत्राले बताए । टिआइएले सो ‘लिंक’ उपलब्ध नगराएकोले सञ्चालनमा ल्याउन नसकिएको उनले जानकारी दिए । ‘पार्किङ निर्माण सकियो,’ उनले भने, ‘टिआइएले लिंक उपलब्ध गराएको अवस्थामा २ महिनाभित्र पार्किङ सञ्चालनमा आउने छ ।’

यता टिआइएका महाप्रवन्धक देवानन्द उपाध्याय भने लिंक उपलब्ध गराइसकेको दावी गर्छन् । ‘हामीले कम्पनीलाई लिंक उपलब्ध गराइसकेका छौं अव डेढ महिनाभित्रै सञ्चालनमा आउने छ,’ उनले भने ।

विमानस्थलमा पार्किङ गत जनवरी देखि सञ्चालनमा ल्याउने भनिए पनि नाकाबन्दीले सो निर्माण कार्य रोकिएपछि पर सरेको थियो । पार्किङ विमानस्थल छिर्ने टिआइएको गोल्डेन गेटको साइडको खाली ठाँउमा निर्माणाधिन अवस्थामा रहेको छ । विमानस्थलको पार्किङ व्यवस्थापन गर्ने तथा अन्तरराष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले सुविधासम्पन्न कार पार्किङ बनाउन लागेको हो ।

पार्किङमा विमानस्थलको अराइभलबाट सिधै जान मिल्छ । जसले गर्दा विमानस्थलको अगाडी हुने भिडभाड कम गर्नुका साथै व्यवस्थित गर्न सकिने उपाध्यायले बताए । अराइभलवाट यात्रु सिधै लिफ्टमार्फत कार पार्किङमा जान सक्नेछन् । मल्टिस्टोरे पार्किङमा ५ सय ५० ओटा गाडी अट्ने उनले जानकारी दिए ।

टिआइएले रसुवा केडी भेन्चरलाई सो पार्किङ बनाउने जिम्मा दिएको थियोे । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सो कम्पनीसँग ३० बर्षका लागि लिजमा दिने सम्झौता गरेको थियो । सम्झौता अनुसार ३० बर्षपछी कम्पनीले सो पार्किङ त्रिभुवन विमानस्थललाई फिर्ता गर्नेछ । तर कम्पनीले सो जग्गा प्रयोग गरेबापत मासिक भाडा र राजस्व भने विमानस्थललाई बुझाउनुपर्ने प्रावधान छ ।

दुई तलाको मल्टि स्टोरी पार्किङमा वरिपरी रेष्टुरेन्ट, पसल तथा स्पा हाउसहरु पनि स्थापना गरिने बताइएको छ । पसलमा नेपाली संस्कृति तथा परम्परा झल्कने सामग्रीहरु समेत उपलब्ध गराइने छ । सो मल्टिस्टोरीमा सञ्चालन गरिने रेष्टुरेन्टहरुले दिने सेवा पनि अन्तरराष्ट्रिय स्तरको हुने महाप्रवन्धक उपाध्यायको दावी छ । त्यस्तै सो पार्किङमा सपिङ सेन्टर पनि स्थापना गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL