Logo

लकडाउनको प्रभाव : मध्यपहाडी लोकमार्गमा काम ठप्प, ४२ किलोमिटर कालोपत्रको काम रोकियो

लकडाउनको प्रभाव : मध्यपहाडी लोकमार्गमा काम ठप्प, ४२ किलोमिटर कालोपत्रको काम रोकियो



काठमाडौं । लकडाउनका कारण मजदुरको अभाव भए पछि मध्यपहाडी लोकमार्गको कालोपत्रको काम ठप्प भएको छ । मजदुर अभाव र कोभिड–१९ बाट जोगिन भन्दै जाजरकोट र रुकुम पश्चिमको सो मार्गको करिब ४२ किलोमिटरमा कालोपत्रेको काम बन्द गरेको आयोजनाले जानकारी दिएको छ ।

जाजरकोट, रुकुमपूर्व र रुकुम पश्चिम गरी २१४ किलोमिटर सडक मध्यपहाडी लोकमार्गअन्तरगत पर्दछ । लकडाउनका कारण राष्ट्रिय गौरवको आयोजनाका काम नरोक्ने सरकारी निर्णय भएपनि मध्यपहाडी लोकमार्गको काम मजदुर अभावकै कारण रोकिएको हो । रुकुम र जाजरकोट खण्डको काम रोकिएपछि तोकिएको समयमा निर्माण नहुने पक्का भएको छ । आयोजनाले रुकुम खण्डमा आगामी असार मसान्तभित्र कालोपत्र गरिसक्ने लक्ष्य लिएको थियो ।

सानीभेरी–चौरजहारी सडकखण्डको ३२ किलोमिटर कालोपत्रको काम करिब एक महिनादेखि रोकिएको लोकमार्गको दैलेख आयोजना कार्यालयले जानकारी दिएको छ । कालोपत्र गर्नका लागि ठिक्क परेको काम रोकिएपछि समस्या भएको छ । रुकुमको ३२ किलोमिटर र जाजरकोटको १० किलोमिटर सडकमा कालोपत्र गर्ने ठिक्क पारिएको भए पनि लकडाउनका कारण मजदुर नहुँदा काम रोकिएको छ । अन्य मेशिनबाट हुने काम जारी रहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

शर्मा सिंह एन्ड ब्रदर्स जेभीका विश्वास उप्रेतीका अनुसार कालोपत्र गर्नका लागि आधारभूत काम सकिएको थियो, कालोपत्र शुरु हुनै लाग्दा लकडाउन हुँदा काम रोकिएको छ । बाँकी कच्ची कटान गर्ने काम भने उपकरणमार्फत हुने काम भने चालु रहेको छ । जाजरकोट खण्डमा रहेको ८२ किलोमिटर सडकखण्ड मध्ये ५५ किलोमिटर शर्मा सिंह एन्ड ब्रदर्स जेभीले काम गर्ने ठेक्का पाएको छ । ‘अहिले मेशिनको काम मात्र भएका छन’, उप्रेतीले भने, ‘अब दुई, चार दिनभित्र मेशिनको काम रोकिने सम्भावना छ, नेपालगञ्जबाट आउने सामग्री आउन छाडिसकेको छ । तेलको आपूर्तिसमेत ठप्प भएको छ ।’

जाजरकोटको सबैभन्दा जटिल मानिएको छेडागाड नगरपालिकाको मन्ताभिरमा भने कटानको काम शुरु भएको छ । त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको हासिवाङदेखि चौरजहारी र जाजरकोटको भेरी नगरपालिकाको सिमानासम्मको काम रोकिएको छ । अग्ला ठाउँ सम्याउने, क्रसर र नालाको काम भने मेशिनमार्फत जारी राखिएको छ । उक्त खण्डसहित पहिले नै ठेक्का लागेका सबै सडकमा कालोपत्रको काम आगामी असार मसान्तसम्म सकिनुपर्ने हो । कालोपत्रको म्याद सकिन करिब एक महिना मात्र बाँकी भएकाले निर्धारित समयमा काम पूरा नहुने पक्का भएको छ ।

बाहिरबाट आएका दक्ष कामदार लकडाउनका कारण फर्किएका छन् । यही वैशाख २५ गतेपछि लकडाउन खुकुलो भए बाहिर गएका कामदारलाई बोलाएर कालोपत्रको काम जारी राख्ने आयोजनाको तयारी छ । अहिलेकै अवस्थामा रहेर काम गर्दा १० किलोमिटर कालोपत्रको काम असार मसान्तसम्म सकिने अनुमान छ । बाँकी २२ किलोमिटर कालोपत्र आगामी मङ्सिरभित्र गर्ने गरी आवश्यक तयारी थालिएको छ ।

लकडाउनकै कारण मध्यपहाडी लोकमार्गअन्तरगत बैरीदहदेखि पूर्वको क्षेत्रमा पनि कालोपत्र शुरु भएको छैन । त्यहाँ पनि उपकरणबाट हुने काम भने चालु छ । उपकरणभन्दा श्रमिकबाट गर्नुपर्ने काम धेरै भएपछि समस्या परेको निर्माण कम्पनीले जानकारी दिएको छ । मध्यपहाडी लोकमार्गले रुकुमपूर्व र पश्चिमको १२३ किलोमिटर खण्ड ओगटेको छ भने जाजरकोटमा ८२ किलोमिटर रहेको छ । रुकुममा केही खण्डमा कालोपत्रको काम भइसकेको छ । त्यस्तै लोकमार्गका अरू सबै खण्डमा ठेक्का लागे पनि मुसीकोट नगरपालिकाको सेरीगाउँदेखि हासिबाङसम्मको १२ किलोमिटरको भने अझै ठेक्का लाग्न सकेको छैन ।

आयोजना कार्यालयका अनुसार ठेक्का टुङ्गो लागे पनि सार्वजनिक गर्ने र सम्झौताको काम हुन सकेको छैन । आयोजनाको काम रोकिएपछि स्थानीयवासी निराश भएको जाजरकोट भेरी नगरपालिकाका–११ कालाभुरका धर्मबहादुर घर्तीले बताए । काम रोकिएपछि फुर्सदिलो भएर बसेको उनको भनाइ छ । निर्माण कम्पनीले दक्ष जनशक्ति बाहिरबाट ल्याएर काम गर्दै आएको छ । हाल स्थानीय मजदुरलाई बाहिरबाट आएका दक्ष जनशक्तिले सिकाएको भरमा काम भईरहेको छ ।

भेरी नदीमा निर्माण हुने भनिएको मध्यपहाडी लोकमार्गको पुल निर्माण हुन नसकेर ठप्प भएको छ । त्यस्तै कर्णाली प्रदेशको सामरिक महत्वको आयोजना नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को कामसमेत ठप्प भएको छ । बाहिर जिल्लाका मजदुर लकडाउनका कारण घर फर्केपछि डिपिआरको काम ठप्प भएको हो/रासस

प्रतिक्रिया दिनुहोस्
MBL