Logo

मेलम्चीको सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन, मन्त्रालय भन्छ अध्ययन हुँदैछ

मेलम्चीको सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन, मन्त्रालय भन्छ अध्ययन हुँदैछ



काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी अझै टुङ्गो लाग्न सकेको छैन ।

स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जानकारी दिएको छ । सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमकसम्बन्धी मागदाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन भएको छ ।

मजदुरलाई ज्यालावापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताएका छन । ‘भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ÷छैन भनी जाँच गर्ने (भेरिफाइ) काम भइरहेको छ’, उनले भने, ‘त्यो सकिनासाथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।’

सिएमसी कम्पनीले निर्माणकार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्ता (सप्लायर) लाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गर्दै आएका थिए । कम्पनीले निर्माणकार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो ।

नयाँ कम्पनी निर्माणकार्यमा लागिरहँदा सरकारले यसअघिको समस्या भने समाधान गरिसकेको छैन । सहसचिव नेतृत्वको प्राविधिक समितिले यही साताभित्रमा समस्या हल गरी मेलम्ची असारभित्रमा ल्याउने भनी श्वेतपत्र जारी गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL