Logo

काठमाडौंका आकाशे पुल निर्माणमा तीव्रता : माईतीघरको अर्को साता तयार, जयबागेश्वरी र चाबहिलमा पनि बन्दै

काठमाडौंका आकाशे पुल निर्माणमा तीव्रता : माईतीघरको अर्को साता तयार, जयबागेश्वरी र चाबहिलमा पनि बन्दै



काठमाडौं । काठमाडौं महानगरले काठमाडौंका ब्यस्त सडकमा आकाशे पुल निर्माणमा तीव्रता ल्याएको छ । महानगरले पछिल्लो समय निर्माण गरिरहेका आकाशे पुल मध्ये माईतीघरको आकाशे पुल अर्को हप्ता निर्माण सम्पन्न हुने भएको छ । महानगरका अनुसार पुलका लागि आवश्यक सबै सामग्री तयार भईसकेको र ल्याएर जडान गर्ने कार्यमात्रै बाँकी रहेकाले अर्को हप्ता पुल तयार हुनेछ । महानगरका शहरी बिकास पूर्वाधार विभाग प्रमुख उत्तरकुमार रेग्मीले महानगरले तीव्रताका साथ काम गरिरहेका जानकारी दिए ।

माइतीघरमा निर्माण भईरहेको उक्त पुलको काम भने कोसी बिल्डर्स मोरङले गरिरहेको छ । महानगरले कोसी बिल्डर्ससँग ६८ लाख ७३ हजार १ सय ५३ रुपैयाँमा सो पुल बनाउन सम्झौता गरिएको थियो । सम्झौता अनुसार यही मंसिरसम्ममा सक्ने गरी निर्माण सुरु भएको भएपनि ठेकेदारको लापरवाहीका कारण समयमै पुल निर्माण हुन सकेको थिएन ।

यसकारण महानगरले अर्को हप्तासम्म जसरी पनि निर्माण सम्पन्न गर्नेगरि दैनिक रातको समयमा पुल जडान गर्न ठेकेदारलाई निर्देशन समेत दिईसकेको छ । रेग्मीका अनुसार महानगरले निर्माण गर्ने अन्य दुई स्थानमध्ये जयबागेश्वरी र चाबहिलको आकाशे पुलको लागि भने भर्खरै ठेक्का भएकाले निर्माण सम्पन्न हुन केही समय लाग्ने भएको छ । तर ति आकाशे पुल चालु आर्थिक बर्ष भित्रै सम्पन्न गर्ने गरि कामलाई तीब्रता दिने रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार माईतीघर, चाबहिल र जयबागेश्वरीमा निर्माण हुने ३ ओटा आकाशे पुलको लागि भने करिब साढे ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उनका अनुसार महानगरपालिकाले आव ०७४÷७५ मा आफ्नो क्षेत्रभित्र १० वटा आकाशे पुल बनाउने योजना अघि सारे पनि हाल ३ ओटा मात्रै पुल निर्माणको काम भइरहेको छ ।

सबै ठाउँमा आकाशे पुल नहुँदा बटुवाले सडकबाटै बाटो काट्ने हुनाले पनि ट्राफिक जामको समस्या तथा सडक दुर्घटनाको दर बढ्दै गईरहेको छ । सहरका मुख्य चोकमा आकाशे पुलको व्यवस्था भए ट्राफिक जाम र दुर्घटना पनि केही हदसम्म कम हुने र पैदलयात्रीलाई सहज हुने प्रमुख रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL