Logo

पर्यटकिय क्षेत्रसम्म पुग्ने सडकको स्तरोन्नति, पर्यटन प्रवर्द्धनमा जोड

पर्यटकिय क्षेत्रसम्म पुग्ने सडकको स्तरोन्नति, पर्यटन प्रवर्द्धनमा जोड



काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सडकको स्तरोन्नतिको कार्यमा जोड दिन थालेको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी नगरपालिकाले पर्यटकीय क्षेत्र जोड्ने सडकको स्तरोन्नति गर्न थालेको हो । पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने, ग्राभेल गर्ने र पदमार्ग निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिएका छन ।

झिलमिला ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कालिताल झर्ना, विष्णु मन्दिर र रौटेला धार्मिक पर्यटकीय क्षेत्र जोड्ने सडक स्तरोन्नतिको कार्य गरिएको छ । पर्यटकलाई लक्षित गरी ताराकोटदेखि पर्यटकीय क्षेत्र झिलमिला जाने एक किलोमिटर पदमार्ग निर्माण गरिएको छ । सांसद बिकास कोषको १० लाख रुपैयाँको लागतमा दुई मिटर चौडाइको पदमार्ग निर्माण गरिएको हो । वडा कार्यालयको १० लाख रुपैयाँ बजेटमा झिलमिला तालको परिक्रमा पथसमेत निर्माण गरिएको वडा अध्यक्ष राम नाथले बताए ।

‘तराई मधेश चुरे राष्ट्रिपति कार्यक्रमअन्तर्गत झिलमिला ताललाई पहिरोबाट पुरिन बाट जोगाउनका लागि चेक ड्यामसमेत निर्माण गरिएका छौँ’, उनले भने, ‘यसका लागि १४ लाख रुपैयाँ रकम खर्चिएको छ ।’ पर्यटकको सहजताका लागि धार्मिक पर्यटकीय क्षेत्र त्रिपुरा पुग्ने सडक १५ लाख रुपैयाँ लागतमा कालोपत्रे गर्ने कार्य कार्य सुरु भएको वडा कार्यालयले जानकारी दिएको छ ।

त्यसतै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मल्टिस्पान झोलुङ्गे पुललगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटक र सर्वसाधारणका लागि वडा नं १६ मा १ करोड ४० लाखको लागतमा डेढ किलोमिटर सडक कालोपत्रे गरिएको छ । पहिला सडकको अवस्था बिग्रँदो अवस्थामा रहँदा पर्यटकले निकै सास्ती खेप्दै आएका थिए । पर्यटक र सर्वसाधारणको असहजतालाई महसुस गरी सडक कालोपत्रे गरिएको हो ।

पर्यटकीय मार्ग निर्माण भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज हुने वडाध्यक्ष दामोदर महराले बताए । भीमदत्त नगरपालिका–१० मा रहेको कालिताल झर्नाको मनमोहक दृश्यावलोकनका लागि पुग्ने पर्यटकलाई मध्यनजर गर्दै पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरगत १० लाख रुपैयाँ लागतमा पदमार्ग निर्माण गरिएको वडाध्यक्ष परमानन्द जोशीले बताए ।

पर्यटकीय क्षेत्रमा पर्यटकलाई सहजरुपमा पुग्नका लागि सडक स्तरोन्नतिको कार्यलाई निरन्तरता दिँदै पर्यटकलाई आवश्यक पर्ने अन्य सुविधा प्रदान गर्नसमेत नगरपालिकाले योजना बनाई कार्य अगाडि बढाउने जानकारी दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL