Logo

पुनर्निर्माण सन्तोषजनक रहेको राष्ट्रिय सरोकार समितिको भनाई, बजेट ब्यवस्थापन नहुँदा समस्या : प्राधिकरण

पुनर्निर्माण सन्तोषजनक रहेको राष्ट्रिय सरोकार समितिको भनाई, बजेट ब्यवस्थापन नहुँदा समस्या : प्राधिकरण



काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पुनर्निर्माण सन्तोषजनक रुपमा अघि बढेको बताएका छन । सोमबार बसेको बैठकमा समितिले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै बाँकी काम स्पष्ट मापदण्ड बनाएर गर्न समेत निर्देशन दिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

समितिका सभापति दिलकुमारी रावल थापाले समितिले दिएका निर्देशनहरु प्राधिकरणले कार्यान्वन गरेको भन्दै बाँकी गुनासोको सुनुवाई समेत छिटो गर्न निर्देशन दिएकी छिन । ११ महिना अघि समितिले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सांसद सुरेन्द्रराज पाण्डेले पुनर्निर्माण भएका विद्यालयहरु राम्रो बनेको प्रतिकृया दिएका छन । सांसद खिमलाल भट्टराईले धरहरा र रानीपोखरीको पुनर्निर्माणमा पछिल्लो अवस्थामा राम्रो प्रगति भएको भन्दै थप बाँकी काम तोकिएको समयमै बन्ने आशा राखेका छन । त्यस्तै सांसद रमेशप्रसाद यादवले पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण गर्दा पुरानै ढाँचामा परम्परागत सामग्रीहरु प्रयोग भएकोमा खुशी व्यक्त गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्माण व्यवसायीले राम्रो काम नगरेकाले अब उपभोक्ता समितिमार्फत रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माण गर्ने बताएका छन । सांसद कोमल वलीले एक वर्षभित्रमा पुनर्निर्माणका कामहरु सम्पन्न नहुने आशंका ब्यक्त गरे पछि ज्ञवालीले अहिले पनि बजेट मुख्य चुनौती भएको भन्दै बजेटको व्यवस्थापन भए एक वर्षभित्रमा सबै पुनर्निर्माणका कामहरु सम्पन्न हुने बताएका छन । सांसदहरुले भारतीय एक्जिम बैंकको ऋण सहयोग, गोरखा दरबार पुनर्निर्माण, भूमिहीन तथा सुकुम्बासीहरुको निजी आवास पुनर्निर्माण लगायतका जिज्ञासा राखेका थिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवासमा ८६ प्रतिशत प्रगति भएको उल्लेख गर्दै पौष महिनाभित्र गुनासोहरुको सम्बोधन हुने बताएका छन । धरहराको चौथो तलाको काम सम्पन्न भएको बताउँदै उनले हरेक महिना दुई तलाका दरले थपिंदै जाने बताए । रानीपोखरीको काम पनि अगाडि बढिरहेको र २०७७ बैशाखमा काम सम्पन्न गर्नेगरी तिब्ररुपमा काम भईरहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL