Logo

पुनर्निर्माण प्राधिकरणले थप्यो साढे ७ हजार लाभग्राही, १ लाख १३ हजार गुनासो फस्र्याैट

पुनर्निर्माण प्राधिकरणले थप्यो साढे ७ हजार लाभग्राही, १ लाख १३ हजार गुनासो फस्र्याैट



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको पुस ११ र १३ गते बसेका बैठकले पुनः जाँच तथा छुट सर्भेक्षण, बाट संकलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप गरेको हो ।

यस्तै बैठकले ३ हजार ७६ प्रवलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९ सय ९८ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ ।

यसअघि, मंसिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको थियो । त्यस्तै, उक्त २ हजार ६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत संकलित कुल १ लाख ८९ हजार लगतमध्ये हालसम्म १ लाख १३ हजार ४३ को निर्णय भइसकेको जानकारी दिए ।

‘बाँकी गुनासोको प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेका छन् । हामी पौष मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी निर्णय गरिसक्छौं,’ उनले भने ।

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापट ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुनः जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकाहरुले २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्नेछ । त्यसैगरी, २०७७ बैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL