Logo

प्राधिकरण भन्छ एक वर्षमा धरहराको मुख्य संरचना तयार हुन्छ, सांसद भन्छ यो पाराले १० बर्षमा पनि बन्दैन

प्राधिकरण भन्छ एक वर्षमा धरहराको मुख्य संरचना तयार हुन्छ, सांसद भन्छ यो पाराले १० बर्षमा पनि बन्दैन



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने जनाएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण द्रुत रुपमा भइरहेको जानकारी दिँदै आगामी एक वर्षमा मुख्य संरचना पुनर्निर्माण हुने बताएका हुन ।

उनले भने, ‘धरहराको पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर गरिरहेका छौं, समितिलाई स्पष्ट रुपमा भन्न चाहन्छौं, धरहरा पुनर्निर्माण समयमा नै गर्नेछौं ।’ बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा बन्नेमा दुबिधा राख्दै आपत्ति जनाएको छ । ‘धरहरा निर्माण गर्ने कम्पन्नी क्षतिपूर्ति लिने दाउमा छ’, उनले भने, ‘यस्तै अवस्थाले १० वर्षमा धरहरा बन्दैन ।’

धरहरा पुनर्निर्माण समयमा होस् भनेर आफूले आशंका व्यक्त गरेको भन्दै सांसद श्रेष्ठले धरहरा पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । केहीले धरहरा पुनर्निर्माणको विरोध गरेका छन् । तर, धरहरा पुनर्निर्माणका लागि जनस्तरबाट पूर्ण सहयोग छ । जनताका कारण एक दिन पनि रोकिदैन उनले भने ।

निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले एक वर्षदेखि धरहराको पुनर्निर्माण गर्दै आएको छ । प्राधिकरणले धरहराको मुख्य संरचना आगामी एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको छ । समिति सभापति शशी श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भन्दै अगाडी बढ्न निर्देशन दिएका छन ।

सांसदहरुले धरहरा पुनर्निर्माणलाई सम्पन्न गर्न अनुगमनलाई प्रभावकारी बनाउन माग गरे पछि समितिले हरेक ३ महिनामा अनुगमन गर्न निर्देशन दिएको छ । अहिले धरहराको तीन तलाको ढलान भइसकेको छ । त्यस्तै श्रेष्ठले रानीपोखरी बन्नेमा पनि आशंका व्यक्त गरेका छन । उनले भने, ‘जुन ढंगले काम गरेको छ, त्यो स्टाइलले रानीपोखरी पनि बन्दैन ।’ यतिबेला रानीपोखरीको पिँधमा कालोमाटो राखेर इट्टा बिच्छाउने काम भइरहेको छ भने बालगोपालेश्वरको मन्दिर प्रताप मल्लकालीन शैलीमा बनाईरहेको छ ।

बैठकमा सांसदहरुले एकीकृत बस्ती, भूकम्प पीडितलाई उपलब्ध गराइने सहुलियतपूर्ण ऋण, सुकुम्बासी तथा भूमिहीनको व्यवस्थापन, शहरी पुनर्निर्माण, पुनर्निर्माण भएका घर भूकम्प प्रतिरोधी भएनभएको, जीविकोपार्जन, प्राविधिकहरुको परिचालन लगायतका विषयमा चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL