Logo

जग्गा अधिग्रहणमा रोकियो नागढुङ्गा सुरुङमार्ग निर्माण, २५ रोपनी जग्गाको मालिक को ?

जग्गा अधिग्रहणमा रोकियो नागढुङ्गा सुरुङमार्ग निर्माण, २५ रोपनी जग्गाको मालिक को ?



काठमाडौं । जग्गा अधिग्रहणमा कठिनाई हुँदा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा समस्या देखिएको छ । सुरुङमार्ग निर्माणको काम अघि बढेपनि आवश्यक जग्गा अधिग्रहण हुन नसक्दा समस्या आएको हो ।

निर्माणाधीन सुरुङमार्गको धादिङतर्फको जग्गामा व्यक्तिको स्वामित्व पत्र नहुँदा अधिग्रहण गर्न नसकिएको हो । धादिङको धुनिबेँशी नगरपालिकामा झण्डै २५ रोपनी जग्गा अधिग्रहण गर्न समस्या रहेको सडक विभाग, विकास समन्वय कार्यन्वयन महाशाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

उनका अनुसार सुरुङमार्ग निर्माणस्थलमा जग्गाको पूर्जा भएका व्यक्ति मुआब्जा लिइरहेका छन् भने पूर्जा नभएको जग्गामा समस्या देखिएको छ । झण्डै २० व्यक्तिले आफ्नो जग्गा भनी दाबी गरेपनि उनीहरुसँग प्रमाण नभएको उनले बताए । ‘जग्गाको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर हामी नियमित छलफलमा छौँ,’ उनले भने ।

जग्गाको अधिग्रहण गर्न बाँकी रहेका बाहेक सुरुङमार्ग निर्माणमा अरु किसिमको अवरोध नभएको प्रमुख थापाले जानकारी दिए । निर्माणका लागि तोकिएको अवधि ४२ महिनामा जग्गा खाली गराउनेदेखि निर्माण सम्पन्न भइसक्ने उनको दाबी छ । त्यससँगै बलम्बुमा ‘फ्लाई ओभर’ निर्माण गर्नका लागि जग्गा अधिग्रहण गर्न बाँकी रहेको बताइएको छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको गत चार कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गरेका थिए । झण्डै डेढ दशक पहिले कल्पना गरिएको भए पनि आर्थिक व्यवस्थापनलगायतका कारणले सुरुङमार्ग निर्माणको योजना बन्न सकेको थिएन । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले आर्थिक र प्राविधिक सहयोग गर्ने भएसँगै सरकारसँग गत महिना निर्माण सम्झौता भएको थियो । गत महिना सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनबीच सुरुङमार्ग निर्माणका लागि सम्झौता भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL