Logo

बन्दीपुरमा एक वर्षभित्रै केबुलकार संचालन, डेड अर्बमा ८० कोठाको होटल सहितको संरचना निर्माण

बन्दीपुरमा एक वर्षभित्रै केबुलकार संचालन, डेड अर्बमा ८० कोठाको होटल सहितको संरचना निर्माण



काठमाडौं . तनहुँको बन्दीपुर गाउँपालिकामा निर्मार्णाधिन केबुलकार एक वर्षभित्र सञ्चालनमा आउने भएको छ । एक वर्षभित्र केबुलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको परियोजनाको साझेदार कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । हाल बन्दीपुर केबुलकार परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको उनले जानकारी दिए ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माण भइरहेको उक्त भवनको लागत १८ करोड ५५ लाख रहेको छ । भवन एक वर्षभिभत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो लिमिटेड, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

केबुलकारको माथिल्लो स्टेशनमा दश तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । ८२ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण गरिने शर्माले जानकारी दिए । ‘होटलसहितको भवन निर्माणका लागि भर्खरै मात्र नक्सा पास सम्पन्न भएको छ’, उनले भने, ‘अब यसलाई पनि निर्माणको चरणमा लैजान्छौँ ।’

अध्यक्ष शर्माका अनुसार रेष्ट्रो जोन, शपिङ मल र केबुलकारको ड्राइभ स्टेशन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । ५ सय जना क्षमताको सभाहलसमेत उक्त भवनमा निर्माण गरिनेछ ।

प्रारम्भमा ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा सुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख रुपैयाँ बराबरको सेयर प्रदान गरिसकेको छ । केबुलकार कम्पनीमा २ सय २५ जनाभन्दा बढी स्थानीयवासीले सेयर हालिसकेका छन् ।

स्थानीयवासीबाट केबुलकार निर्माणका लागि करिब ३ करोड सेयर संकलन भएको छ भने बन्दीपुर गाउँपालिकाले ५० लाख रुपैयाँ सेयर लगानी गरेको छ । ‘परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्न निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिनेछ,’ उनले भने ।

ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २ सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो हुने दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँरादेखि शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ ।

डुम्रे बजारदेखि बन्दीपुर पुग्न ७ किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा ९ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL