Logo

काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निरमार्णका लागि स्थलगत सम्भाव्यता अध्ययन, यसरी टुङ्गो लाग्दै छ मोडालिटी

काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निरमार्णका लागि स्थलगत सम्भाव्यता अध्ययन, यसरी टुङ्गो लाग्दै छ मोडालिटी



काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली लुम्बिनी गएको छ । चीनको राष्ट्रिय रेल्वे प्रशासनका कर्मचारी र नेपालको रेल विभागका कर्मचारी सम्भाव्यता अध्ययनका लागि त्यसतर्फ गएको रेल विभागले जानकारी दिएको छ ।

काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार छलफल भएको थियो । चिनियाँ टोलीले मंगलबार नै मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको थियो ।

चीन सरकारले काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गमा चासो देखाएपछि पूर्वसम्भाव्यता अध्ययन गरेको विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले बताए । उनका अनुसार चीन सरकारकै लगानीमा पूर्वसम्भाव्यता अध्ययन भएको थियो । सो अध्ययनमा काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग सम्भव छ भन्ने देखिएको थियो ।

काठमाडौं केरुङ रेलमार्गको अध्ययनका विषयमा नेपाल चिनियाँ प्रतिनिधिबीच पटकपटक छलफल हुँदै आएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको गत असोजमा भएको नेपाल भ्रमणका क्रममा यस रेलमार्गको अध्ययनका लागि सम्झौता भएको थियो ।

त्यस समयमा भएको राजनीतिक सम्झौताकै आधारमा अहिले काम गर्ने तह (वोर्किङ लेभल) मा सम्झौता भएको हो । तीन चरणमा गरी अध्ययन सम्पन्न हुने प्रवक्ता चित्रकारले जानकारी दिए ।

पहिलो चरणमा ‘एरियल सर्भे’, (हवाई सर्भेक्षण), दोस्रोमा ‘जियोलोजिकल इनभेस्टिगेसन’ (भौगोलिक अनुसन्धान) र तेस्रोमा ‘रेल्वे अलाइनमेन्ट’ (रेल पङ्क्ति योजना) रहेको छ । तीनै चरणको अध्ययनका लागि झण्डै दुई वर्ष लाग्ने अनुमान गरिएको छ । उनले भने, ‘सकेसम्म छिट्टो अध्ययन सम्पन्न गर्नुपर्छ भनी हामी तत्पर छौँ ।’

भू–बनावटका आधारमा काठमाडौं–केरुङ रेलमार्ग निर्माण सहज नभएको प्रवक्ता चित्रकारले बताए । अध्ययनमा चिनियाँसँगै नेपाली पनि सहभागी हुने बताइएको छ । नेपालमा रेलसम्बन्धी दक्षता भएका जनशक्तिको अभाव रहेकाले चिनियाँ पक्षले नै दक्ष जनशक्तिमार्फत अध्ययन गर्नेछ । सो अध्ययनमा नेपालीले चिनियाँसँगै काम गरेर सिक्ने अवसर पाउने उनको भनाई रहेको छ । उनले भने, ‘हाम्रो लागि यो अध्ययन भनेको गरेर सिक्न पाउने अवसर पनि हो ।’

अध्ययनका लागि २०० मिलियन चिनियाँ युयान खर्च हुने अनुमान गरिएको छ । चीनको आर्थिक लगानीमा सो काम अघि बढ्दैछ । चीन सरकारबाट अनुदान सुनिश्चित भएपछि नै अध्ययनको काम अघि बढ्ने प्रवक्ता चित्रकारको भनाइ छ ।

चीनको राष्ट्रिय रेल्वे प्रशासनले केरुङ काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन गत वर्ष नै नेपाल सरकारलाई बुझाइ सकेको छ । त्यसयता पटक पटक नेपाल र चीनका अधिकारीबीच सो विषयमा छलफल हुँदै आएको छ ।

सम्भाव्यता अध्ययन प्रतिवेदनले कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त गरेको थियो । केरुङ–काठमाडौं रेलमार्गको दूरी करिब ८० किलोमिटर हुनेछ । सो रेलमार्गको निर्माण अवधि ८ वर्षको हुने र करिब ३ खर्ब रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।

सो सम्भाव्यता अध्ययन प्रतिवेदनमा काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहित समेटिएको छ । यस्तै सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ । प्रारम्भिक अध्ययनका आधारमा विस्तृत अध्ययन हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यातायात सम्झौताको प्रोटोकलले चीनका ३ वटा भूबन्दरगाह तथा ४ वटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको थियो ।

यस्तै, हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल चीन सीमापार रेलमार्गले भूपरिवेष्टित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्ने छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL