Logo

निजी आवास पुनर्निर्माण ६० प्रतिशत सम्पन्न, दोस्रो किस्ता लिने समय कात्तिक मसान्त सम्म

निजी आवास पुनर्निर्माण ६० प्रतिशत सम्पन्न, दोस्रो किस्ता लिने समय कात्तिक मसान्त सम्म



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिन आग्रह गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमा नै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्प पीडितलाई आग्रह गरेका हुन ।

प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कार्तिक मसान्तसम्म तोकेको छ । सरकारले निजी आवास पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९ सय १० लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७ लाख ६८ हजार ५ सय ४९ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १२ हजार १ सय ५ लाभग्राहीले दोस्रो किस्ता र ५ लाख ७ हजार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।

भूकम्पबाट क्षति भएकामध्ये ४ लाख ६९ हजार २ सय ५९ घर पुनर्निर्माण भइसकेका छन् भने १ लाख ९४ हजार ४ सय ५६ घर पुनर्निर्माणका क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार भूकम्प प्रभावित ३२ जिल्लामा ६० प्रतिशत घर पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) इकाईका उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले शहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन ।

युनेस्को मिसन टोली काठमाडौंमा

काठमाडौं उपत्यका विश्व सम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रहरुको पछिल्लो अवस्था अध्ययन गर्न नेपाल आएको युनेस्कोको रियाक्टिभ मोनिटरिङ मिसनले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँग भेट गरेका छन ।

भेटमा २०७२ वैशाखको भूकम्पबाट क्षति भएका काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुर्नस्थापना र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे छलफल छलफल गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले सम्पदाहरुलाई विशेष प्राथमिकताका साथ पुनर्निर्माणलाई अघि बढाएको बताएका छन । उनले ती विश्व सम्पदा क्षेत्रमा पुनर्निर्माणका कार्य भइरहेको र दीर्घकालीन रुपमा अझ व्यवस्थित गर्नका लागि सबै पक्षलाई समेटेर विस्तृत गुरुयोजना निर्माण जारी रहेको जानकारी गराएका छन ।

मिसनका लागि विश्व सम्पदा केन्द्रको प्रतिनिधित्व गरेका इन्टरनेशनल सेन्टर फर द स्टडी अफ दि प्रिजर्भेसन एण्ड रेस्टोरेसन अफ कल्चरल प्रोपर्टिज (इक्रोम) का अन्तरराष्ट्रिय विज्ञ गामिनी विजिसुरियाले सम्पदाहरुको उचित संरक्षणको अवसर रहेको बताउँदै तिनको पुनिर्निर्माण कार्यको अभिलेखीकरण गर्न सुझाव दिएका छन ।

सम्पदा क्षेत्रहरुको संरक्षणको अवस्था, यसअघिको एड्भाइजरी मिसनले गरेका सिफारिसको कार्यान्वनको अवस्था र ६ वर्षीय पुनर्लाभ गुरुयोजनाको कार्यान्वयन रणनीतिको विकासबारे मूल्यांकन गर्ने कार्यादेशसहित उक्त टोली असोज २९ गते नेपाल आएको थियो ।

भूकम्पबाट काठमाडौं उपत्यका भित्रका विश्व सम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रका १४० ओटा सम्पदाहरुमा क्षति पुगेकोमा हालसम्म ९० ओटा सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL