Logo

धरहराको २६ प्रतिशत पुनर्निर्माण सम्पन्न, दशैंलाई लक्षित गरी तेबहालको बाटो खोलिँदै

धरहराको २६ प्रतिशत पुनर्निर्माण सम्पन्न, दशैंलाई लक्षित गरी तेबहालको बाटो खोलिँदै



काठमाडौं । धरहरा पुनर्निर्माण २६ प्रतिशत सम्पन्न भएको छ । जिआईईटीसी रम जेभीले पुनर्निर्माण गरिरहेको उक्त धरहरा बिहीबारसम्म २६ प्रतिशत सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार धरहरा पुनर्निर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ ।

त्यसैगरी, गोश्वारा हुलाक रहेका भवनहरु भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरु हाल्ने कार्य चलिरहेको निर्माण कम्पनीले जानकारी दिएको छ । समीक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरु समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताएका छन । त्यसक्रममा उनले गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्न समेत जोड दिएका छन ।

धरहरा पुनर्निर्माणको सुपरीवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र स्वाइल टेस्ट जेभीका तर्फबाट पुनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयहरुबारे प्रस्तुतीकरण गरिएको थियो ।
समीक्षामा धरहरा पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्यहरु, निमित्त सचिव लगायतको उपस्थिति थियो ।

यसैबीच, दशैंलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कनका लागि केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्नेगरी काम भइरहेको छ । सञ्चय कोष र साविकको गोश्वार हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ । खिचापोखरीदेखि तेबहालसम्म बाटो खुलिसकेको छ । अब यी दुई बाटो जोडिसकेपछि त्यहाँ स्थायी सडक रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL