Logo

३८० पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न, चालु आवमा १५० निर्माण गरिने

३८० पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न, चालु आवमा १५० निर्माण गरिने



काठमाडौं । २०७२ बैशाख १२ को भूकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३ सय ८० वटाको सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा रहेका छन । ३८० सम्पदाको पुनर्निर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जानकारी दिएको छ ।

पुनर्निर्माण सम्पन्न सम्पदाहरुमा हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक तथा तलेजु मन्दिर रहेका छन । त्यस्तै भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी, नारायण, शंकरनारायण लगायतका मन्दिरहरुको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ ।

चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण समेत सकिएको छ ।

पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनस्र्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वीलङको पुनर्निर्माण भएको छ । त्यसैगरी थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपा लगायतका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण भैसकेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको कार्य धेरै अघि बढिसकेकाले प्राधिकरणले पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएको बताएका छन । उनले भने, ‘सम्पदाहरुको पुनर्निर्माणलाई अझ तीव्र पार्न पुरातत्व विभागको क्षमता वृद्धि गर्नुका साथै अनुगमनलाई थप प्रभावकारी बनाउँछौं ।’

पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालू आर्थिक वर्ष २०७६÷०७७ मा थप १५० वटा सम्पदाको पुनर्निर्माण गर्ने बताएका छन । पुनर्निर्माण भइरहेको सम्पदाहरुमा रानीपोखरी, धरहरा, बसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबार रहेको छ । भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणमा नेपाल तथा अन्तरराष्ट्रिय दाताहरुको सहयोग रहेको छ ।

चीन, भारत, अमेरिका, स्वीट्जरल्याण्ड, श्रीलंका, जापान लगायतका राष्ट्रहरुले सम्पदा पुनर्निर्माणमा सहयोग गरिरहेका छन । काठमाडौंस्थित युनेस्को कार्यालय तथा अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेसन तथा युनिभर्सिटी अफ एप्लाइड आर्टसको समेत सहयोग रहेको छ ।

भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका सम्पदाहरुमा क्षति पुगेको थियो । ती मध्ये ७ सय ५३ वटा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका छन भने भूकम्प प्रभावित १७ जिल्लाका १ सय ३८ वटा सम्पदा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL