Logo

सुरुङमार्गमा फ्लाईओभर निर्माणका लागि थप जग्गा अधिग्रहण गर्दै सडक विभाग

सुरुङमार्गमा फ्लाईओभर निर्माणका लागि थप जग्गा अधिग्रहण गर्दै सडक विभाग



काठमाडौं । सडक विभागले नागढुङ्गा–नौविसे सुरुङमार्गका लागि थप जग्गा अधिग्रहण गर्ने भएको छ । सो सुरुङमार्ग निर्माणका लागि सतुङ्गलमा फ्लाईओभर बनाउनुपर्ने भएकाले थप जग्गा अधिग्रहण गर्न लागिएको सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । उनका अनुसार हालकै पुरानो सडकमा बनाउनुपर्ने उक्त आकाशेपुलका लागि जग्गा नपुग्ने भएपछि थप जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो ।

हालको जग्गाले केही मात्रामा पुगेपनि पुरानो सडकलाई असर नपर्ने गरी फ्लाईओभर बनाउनुपर्ने भएकाले नयाँ जग्गा अधिग्रहण गर्ने निर्णय गरिएको उनको भनाई छ । विभागले करिव ६ सय मिटर लम्बाई र ९ मिटर चौडाई भएको जग्गा आवश्यक पर्ने हुनाले उक्त जग्गा अधिग्रहण गर्न लागेको हो ।

उक्त जग्गा सरकारकै हुने भएपनि स्थानीय बासीको हक लाग्ने भएपछि सर्वाेच्च अदालतले मुआब्जा तिरेर मात्रै अधिग्रहण गर्नका लागि विभागलाई अन्तरिम आदेश दिएको थियो । उक्त अन्तरिम आदेशकै आधारमा विभागले स्थानीय जग्गाधनीलाई मुआब्जा तिरेर उक्त जग्गा अधिग्रहण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL