Logo

नागढुङ्गा सुरुङमार्ग : ३ हप्ता वित्दा पनि आएन जाईकाको निर्णय, निर्माणमा ढिलाई

नागढुङ्गा सुरुङमार्ग : ३ हप्ता वित्दा पनि आएन जाईकाको निर्णय, निर्माणमा ढिलाई



काठमाडौं । थानकोट नागढुङ्गा सडकको सुरुङमार्ग निर्माणका लागि जापानी सहयोग नियोग (जाइका)ले ३ हप्ता वित्दा पनि टेण्डरको टुङ्गो लगाएको छैन । सुरुङमार्ग निर्माणका लागि आवेदन दिएका कम्पनीहरुको अन्तिम मूल्याङ्कनका लागि जाईकामा पठाईएपनि हालसम्म निर्णय नआईपुगेको सडक विभागले जानकारी दिएको छ ।

सवारी जामको चाप घटाउनका लागि बनाउन लागिएको सुरुङमार्ग निर्माणका लागि आवेदन दिएका कम्पनीहरुको अन्तिम निर्णयका लागि ३ हप्ता अघि विभागले जाइकामा फाइल पेश गरेको थियो । तर हालसम्म कुनै निर्णय आएको छैन ।

जाईकाले समयमै निर्णय नदिँदा सुरुङमार्गको निर्माण कार्य पछि धकेलिने सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । सुरुङमार्ग निर्माणका लागि विभिन्न ५ कम्पनीले आवेदन दिएका र सोही मध्ये कुनै एक कम्पनीलाई छनौट गर्न अन्तिम मूल्यांकनका लागि जाईकामा पठाईएको थियो । विभागले ५ महिना अघिमात्रै उक्त सुरुङमार्ग निर्माणका लागि टेण्डर आह्वान गरेको थियो ।

विभागका उपमहानिर्देशक थापाका अनुसार साउन पहिलो हप्ता मात्रै उक्त टेण्डरको अन्तिम मूल्यांकनका लागि जाईकामा पठाईएको थियो । जापान सरकारको १६ अर्ब ऋण र नेपाल सरकारको ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा निर्माण गर्न लागिएको उक्त आयोजना साउन पहिलो हप्ता एक महिनाभित्रै निर्माण सुरु गरिने जानकारी दिईएको थियो ।

२ दशमलव ७ किलोमिटरको उक्त सुरुङमार्गमा सहायक र मुख्य गरी २ ओटा सुरुङमार्ग रहनेछन । जसमा मुख्य सुरुङमार्ग सवारीसाधन संचालन र सहायक सुरुङमार्ग आपतकालिन सेवाका लागि प्रयोग गर्ने भनिएको छ । उक्त सुरुङमार्ग निर्माण भई संचालनमा आएमा नागढुङ्गामा हुने सवारी जाममा नियन्त्रण आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL