Logo

चिनियाँ पक्षको ढिलाईले कलंकी–महाराजगंज सडकको बजेट फ्रिज हुँदै, विभागको सम्पर्कमा आएन सांघाई कन्स्ट्रक्सन

चिनियाँ पक्षको ढिलाईले कलंकी–महाराजगंज सडकको बजेट फ्रिज हुँदै, विभागको सम्पर्कमा आएन सांघाई कन्स्ट्रक्सन



काठमाडौं । पछिल्लो १ बर्षदेखि चिनियाँ पक्षले चक्रपथ विस्तार आयोजना अन्तर्गतको कलंकी महाराजगंजको डिजाईन नदिँदा बजेट फ्रिज हुने भएको छ ।

गत आर्थिक बर्षको साउनमा पहिलो खण्ड अन्तर्गत कोटेश्वर कलंकी खण्डको काम सम्पन्न हुनेवित्तीकै दोस्रो खण्डको काम सुरु गर्ने भन्दै डिजाईनको जिम्मा लिएको चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले हालसम्म पनि डिजाईन तयार नगरिदिँदा भएको बजेट पनि फ्रिज हुने अवस्थामा पुगेको हो ।

सडक विभागका अनुसार हालसम्म चिनियाँ पक्षले डिजाईन नदिँदा उक्त खण्डको कुन रुख हटाउने र कुन विजुलीको पोल हटाउने, सार्ने एकिन नहुँदा बजेट फ्रिज हुने अवस्था आएको हो । चालु आर्थिक बर्षको अन्त्य अर्थात असार मसान्तसम्म पनि उक्त डिजाईन नआउँदा विजुलीको पोल सार्ने, रुख हटाउने लगायतमा विनियोजन गरिएको रकम फ्रिज हुने भएको विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

उनका अनुसार चिनियाँ ठेकेदार कम्पनी विभागको सम्पर्कमा नआउँदा पनि समस्या भएको हो । चिनियाँ पक्ष विभागसँग सम्पर्कमा नआउँदा विभागका विभिन्न राय तथा सुझावहरु चिनियाँ पक्षसम्म पुर्याउन समेत समस्या भएको उपमहानिर्देशक थापाको भनाई छ ।

विभागसँग चक्रपथ विस्तारको दोस्रो खण्डमा पर्ने विजुलीका पोलहरु सार्नका लागि नेपाल विद्युत प्राधिकरणले साढे १० करोड रुपैयाँ मागेको थियो । जसका लागि चालु आबको बजेटले रकम विनियोजन गरेको थियो ।

जसमध्ये ४ करोड रुपैयाँ पोल सार्नकै लागि भनेर विभागले प्राधिकरणलाई दिईसकेको र बाँकी रकम पनि असार मसान्तसम्म दिइसक्नेछ । तर प्रारम्भिक डिजाईन समेत नआउँदा प्राधिकरणले समेत कुन पोल कहाँ सार्ने भन्ने टुङ्गो नहुँदा पोलहरु सार्न सकेको छैन ।

चिनियाँ पक्षले मन्त्रालय स्तरमा भने विभागले हालसम्म पोल तथा रुखहरु सार्ने काम नगरेको भन्ने आरोप लगाएको विभागले जानकारी दिएको छ । त्यसकै लागि भनेर मन्त्रालयस्तरमा कुरा गरेर विभागले चिनियाँ पक्षसँग प्रत्यक्ष कुराकानी तथा राय सल्लाह दिने गरी कुरा अघि बढाउने भएको हो ।

विभागले पहिलो खण्डमा भएको गल्ती दोहोर्याउन नहुने गरी डिजाईन बनाउनका लागि चिनियाँ पक्षसँग भनेको छ । तर चिनियाँ पक्षले सोही अनुसार डिजाईनको काम गरेको छ वा छैन विभागलाई कुनै जानकारी छैन । चालु आर्थिक बर्षमा उक्त पोल, रुख तथा टहरा हटाउने काम हुन नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव राजेश्वर ज्ञवालीले बताए ।

उनका अनुसार चिनियाँ ठेकेदार डीपीआर निर्माण चरणमै रहेको बताएको छ । आगामी आर्थिक बर्षमा मात्रै सांघाईले उक्त आयोजनाको डीपीआर दिएर काम अघि बढ्ने हुनाले चालु आवको बजेट भने फ्रिज नै हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL