Logo

२०८० भित्र पुष्पलाल र हुलाकी राजमार्ग सम्पन्न, समयमै काम नगर्ने ठेकेदारको सम्झौता तोड्न माग

२०८० भित्र पुष्पलाल र हुलाकी राजमार्ग सम्पन्न, समयमै काम नगर्ने ठेकेदारको सम्झौता तोड्न माग



काठमाडौं । सरकारले आगामी ४ बर्षमा पुष्पलाल र हुलाकी राजमार्गको निर्माण सम्पन्न गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महाशेठले आगामी ४ बर्षभित्र अर्थात २०८० सालभित्र दुबै सडकहरुको निर्माण हुने बताएका हुन ।

laxmi

शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले हुलाकी राजमार्ग मा पर्ने २ सय १९ पुल मध्ये ८० सम्पन्न र ८० निर्माणाधिन अवस्थामा रहेको जानकारी दिएका हुन । यस्तै उनले उक्त राजमार्गमा पर्ने ५९ पुलको डिजाईन सम्पन्न भएको जानकारी दिँदै २०८० भित्र यी दुई राजमार्ग सम्पन्न हुने बताएका छन ।

सांसदहरुले ठेकेदारको लापरवाहीले म्याद थप्दै काम नगर्ने प्रवित्त बढेको भन्ने भनाईमा उनले सरकारलाई आर्थिक भार नपर्ने गरी ठेकेदारको म्याद थप्नुपर्ने बताएका छन । बैठकमा बोल्दै विभिन्न सांसदहरुले सरकारले आफ्नो लक्ष्य अनुसार पुल निर्माणका जोड दिन यसबर्ष पनि चुकेको आरोप लगाएका छन ।

चालु आर्थिक बर्ष भित्र सरकारले मध्येपहाडी लोकमार्गमा मात्रै १ सय ३३ ओटा पुल बनाउने लक्ष्य लिएको भएपनि हालसम्म जम्मा ७० पुल मात्रै निर्माण भएका सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । उनका अनुसार उक्त पुलमध्ये २७ ओटा पुल भने निर्माणको चरणमा रहेका छन । उनले उक्त सडक आयोजनामा रहेका रुग्ण पुलहरुको निर्माणमा विभाग केन्द्रित भएको जानकारी दिएका छन ।

बैठकमा बोल्दै अधिकांश सांसदहरुले कुनै पनि पुलको काम ४० प्रतिशतभन्दा माथी नभएको जानकारी दिएका छन । पुल निर्माणको ढिलाई तथा लापरवाहीमा ठेकेदारहरुकै कमजोरी भएकाले ठेकेदारहरुको ठेक्का तोडन समेत सांसदहरुले माग गरेका छन ।

बैठकमा बोल्दै सांसद जिपछिरिङ लामाले समयमै काम नहुनुमा सरकार र ठेकेदार दुबैको गल्ती भएको र त्यसलाई छानविन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए । छलफलमा सांसद प्रभु शाहले सरकारले ल्याएको खरिद नियमावली ठग ठेकेदारहरुका लागि सामान्य भएको जानकारी दिएका छन ।

अन्य सांसदहरुले भने ठेकेदारले कामको सम्झौता गरे पनि ठेक्काको रकम लगेर जग्गा लिने र प्लटिङ गर्दै बेच्ने जस्ता काममा लागेकाले त्यस्ता ठेकेदारको ठेक्का सम्झौता तोडनु पर्ने माग राखेका छन । साथै सांसदहरुले कामको गुणस्तर हेरेर ठेकेदारहरुलाई कारवाही नगरेसम्म विकासका कामहरु सोचेअनुसार अघि नबढ्ने समेत उनीहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL