Logo

भुकम्प गएको ४ बर्षमा ८० प्रतिशत निजीआवास पुनर्निर्माण, बाँकी घर निर्माण गर्न ४ अर्ब २९ करोड लाग्ने

भुकम्प गएको ४ बर्षमा ८० प्रतिशत निजीआवास पुनर्निर्माण, बाँकी घर निर्माण गर्न ४ अर्ब २९ करोड लाग्ने



काठमाडौं । भुकम्प गएको ४ वर्षमा ८० प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजीआवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक लगायतका संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको थियो । सोही अनुसार निजीआवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी हासिल गरेको प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ घर परिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर भने पुनर्निर्माणको प्रक्रियामा रहेको छ । जसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ परिवारले मात्रै घर पुनर्निर्माण सम्पन्न गरेका छन । प्राधिकरणका अनुसार ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५८ निजीआवास भने पुनर्निर्माणका क्रममा रहेको छ ।

त्यस्तै भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत भौतिक प्रगति भएको छ ।

प्राधिकरणका अनुसार स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माण अति प्रभावित जिल्लाको ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरुको पुनर्निर्माण ५६ प्रतिशत तथा सरकारी भवनको पुनर्निर्माण ९८ प्रतिशत उपलब्धी भएको प्राधिकरणले जानकारी दिएको छ ।

भूकम्पबाट क्षति भएका सडक, खानेपानी लगायतका संरचनाहरुको समेत पुनर्निर्माण गर्ने कार्य भईरहेको प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीले जानकारी दिएका छन ।

पुनर्निर्माण सम्पन्न गर्न करिब ९ अर्ब ३८ करोड रुपैयाँ रकमको आंकलन गरिएको थियो । जस मध्ये आर्थिक वर्ष ०७४÷७५ सम्म १ अर्ब ८६ करोड रुपैयाँ रकम खर्च भएको छ भने चालू आवमा १ अर्ब २३ करोड रुपैयाँ खर्च गर्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

प्राधिकरणका अनुसार सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैर सरकारी क्षेत्रबाट करिव २ खर्ब रुपैयाँ परिचालन हुने अपेक्षा रहेको छ । सो क्षेत्रबाट उक्त रकम परिचालन भएमा प्राधिकरणलाई पुनर्निर्माण कार्य सम्पन्न गर्न ४ अर्ब २९ करोड रुपैयाँ थप रकम आवश्यक पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL