Logo

कलंकी–कोटेश्वरका ६ आकाशेपुल निर्माण अन्तिम चरणमा, यसै बर्ष संचालनमा

कलंकी–कोटेश्वरका ६ आकाशेपुल निर्माण अन्तिम चरणमा, यसै बर्ष संचालनमा



काठमाडौं । कलंकी–कोटेश्वर सडकखण्ड अन्तरगत नेपाल सरकारले बनाउन लागेका ६ ओटै आकाशेपुल चालू आर्थिक बर्षभित्रै संचालनमा आउने भएका छन । चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माण गरेको उक्त सडकमा नेपाल सरकारले बनाउने जिम्मा लिएको विभिन्न स्थानका ६ ओटा आकाशेपुलको निर्माण असारमा सम्पन्न हुने भएको हो ।

उक्त खण्डमा चिनियाँ कम्पनीले निर्माण जिम्मा लिएको ३ ओटा आकोशेपुल भने यसअघि नै निर्माण सम्पन्न भई संचालनमा आईसकेका छन । कम्पनीले ४ बर्ष अघि उक्त सडक बनाउने जिम्मा लिएको थियो ।

सम्झौतामा कम्पनीले उक्त खण्डमा ३ ओटा आकाशेपुल बनाउने जिम्मा पाएको थियो । तर नेपाल सरकारले पनि उक्त खण्डको अन्य स्थानमा यात्रु सुरक्षा तथा सडक सुधारका लागि ६ स्थानमा आकाशेपुल बनाउने सम्झौता गरेको थियो ।

सोही योजना अनुसार सरकारले काम थालेको उक्त आकाशेपुलको काम हाल तिव्र रुपमा चलिरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए ।

उनका अनुसार हाल उक्त खण्डको बालकुमारी, सातदोबाटो, एकान्तकुना र बल्खुमा काम चलिरहेको भएपनि सानेपामा भने चिनियाँ कम्पनीले बाटो निर्माणमा बाधा पुग्ने भएपछि काम रोकेको थियो ।

तर हाल चिनियाँ कम्पनीले आफ्नो काम सम्पन्न गरिसकेको हुनाले उक्त स्थानमा पनि काम चाँडै सुरु हुने ईन्जिनियर अर्यालले जानकारी दिए । ‘चिनियाँ पक्षले आफ्नो सबै काम सम्पन्न गरेको छ,’ उनले भने, ‘अब हाम्रो काम पनि अघि बढेको छ, आउने असार मसान्तसम्म हामिले बनाउन लागेका ६ ओटै पुल संचालनमा ल्याउने गरी काम भईरहेको छ ।’

उक्त सडकखण्डमा नेपाल सरकारले बनाउन लागेका विभिन्न ६ ओटा आकाशेपुलको ठेक्का भने उग्रचण्डी महर्जन ड्रामा जेभीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL