Logo

चक्रपथ विस्तारको दोस्रो खण्डको काम रोकियो, पहिलो खण्ड हस्तान्तरण अन्यौलमा

चक्रपथ विस्तारको दोस्रो खण्डको काम रोकियो, पहिलो खण्ड हस्तान्तरण अन्यौलमा



काठमाडौं । चक्रपथ विस्तार आयोजना अन्तरगत दोस्रो खण्डको काम अन्यौलमा परेको छ ।

पहिलो खण्डको हस्तान्तरण गरेसँगै दोस्रो खण्ड अन्तरगत कलङ्की महाराजगंज खण्डको निर्माणको काम अघि बढाउने भन्दै सम्झौता गरेको चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले डिजाईनसम्म तयार नपारेपछि उक्त खण्डको निर्माण अन्यौलमा परेको हो ।

चिनियाँ कम्पनीले पहिलो खण्डको भने निर्माण सम्पन्न गरेको छ । कम्पननीले डिसेम्बर २५ मा उक्त सडकखण्ड सडक विभागलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो तर उक्त म्याद सकिएको ५ दिन वितिसक्दा पनि कम्पनीले हस्तान्तरणको टुङ्गो नलगाएको उक्त सडकखण्डका ईन्जिनियर निरन्जन सर्मा अर्यालले जानकारी दिए । ‘पहिलो खण्डको निर्माण सम्पन्न भएको छ,’ उनले भने, ‘तर चिनियाँ पक्षले सम्झौता गरेको म्याद सकिएपनि सोहिअनुसार हस्तान्तरण गर्नमा भने तत्पर भएको देखिदैन ।’

चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले पहिलो खण्ड अन्तरगत कोटेश्वर देखि कलङ्कीसम्म करिव १० दशमलव ४ किलोमिटर सडकखण्ड निर्माण गर्न सम्झौता गरेको थियो । अनुदान रकममा निर्माण गरिएको उक्त सडकखण्ड निर्माण पुरा गरेसँगै दास्रो खण्डको पनि काम सुरु गर्ने सम्झौता कम्पनीले गरेको थियो ।

करिव ८ महिनाअघि दोस्रो खण्डको डिजाईन बनाउने सम्झौता भएपनि हालसम्म डिजाईनको नै टुङगो नलागेको ईन्जिनियर शर्मा अर्यालले जानकारी दिए । उनले उक्त दोस्रो खण्डको डिजाईनका लागि हालसम्म कम्पनीले कुनै चासो नदेखाएको बताए । यस्तै सडक विभागले भने उक्त खण्डको डिजाईन चिनियाँ पक्षले डिसेम्बरमा बुझाउने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL