Logo

कोटेश्वर–कलंकी सडकखण्ड विस्तारमा चिनियाँ पक्षको काम अन्तिम चरणमा, अन्यौलमा नेपाल सरकार

कोटेश्वर–कलंकी सडकखण्ड विस्तारमा चिनियाँ पक्षको काम अन्तिम चरणमा, अन्यौलमा नेपाल सरकार



काठमाडौं । कोटेश्वर कलंकी सडक खण्ड अन्तरगत बनाउन लागिएका ७ ओटा आकाशे पुलको निर्माणमा नेपाल सरकारले आलटाल गरिरहेको छ ।

उक्त खण्ड विस्तारको जिम्मा लिएको चिनियाँ पक्षले निर्माणकार्य अन्तिम चरणमा पुर्याएपनि आकासेपुल निर्माणको जिम्मा लिएको नेपाल सरकारको काम भने अझै अघि बढ्न सकेको छैन । चिनियाँ पक्षको भागमा परेको ३ ओटा मोटरेबल पुल तथा ३ ओटा आकासे पुल भने बनिसकेका छन ।

तर सो सडकखण्डमा पुल निर्माणका लागि नेपाल सरकारकोतर्फबाट भने कुनै कदम चालीएको छैन । हालसम्म नेपाल सरकारले जिम्मा लिएको ७ ओटा आकासे पुलको फाउन्डेसनको काम मात्र भएको छ ।

समय–समयमा चिनियाँ कम्पनीले गर्दा काममा बाधा आएको बताउँदै आएको सडक विभागले उक्त सडकखण्ड सरकारलाई पुर्ण रुपमा हस्तान्तरण गर्न ३ महिना मात्रै बाँकी रहेको छ । तर, सो अबधिसम्म पुन नबन्ने निश्चित भएको छ ।

चिनियाँ ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले बनाउन लागेको उक्त खण्डमा चिनियाँ पक्षले आफ्नो काम लगभग अन्तिम चरणमा पुर्याउँदासम्म नेपाली पक्षबाट भने २० प्रतिशत मात्रै काम भएको देखिन्छ ।

उक्त खण्डमा नेपाल सरकारले बनाउन लागेको ७ ओटा आकासेपुलको कतिपय ठाउँमा जग (फाउन्डेसन) को काम गरिएको भएपनि कतिपय स्थानमा उक्त फाउन्डेसन पनि तयार भईसकेको छैन । समग्रमा चिनियाँ पक्षले आफ्नो काम तीव्र पार्दा नेपाली पक्षबाट भने काममा आलटाल गरिरहेको देखिन्छ ।

उक्त सडकखण्ड चिनियाँ पक्षले डिसेम्बर १५ भित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेकोले सो समयभित्रै नेपाली पक्षबाट पनि आकासेपुल बनाउन अधिकतम प्रयास गरिने उक्त खण्डका आयोजना प्रमुख प्रकाश भन्डारीले जानकारी दिए । हाल निर्माणाधिन ७ ओटा पुलहरु नेपाली पक्षबाट जतिसक्दो चाँडो बनाउन प्रयास गरिने उनको भनाई थियो ।

सो सडकखण्डको हाल लगभग ९५ प्रतिशत काम पुरा भईसकेको छ । तर बल्खुदेखि कलंकीसम्म भने फाईनल पीच बाँकी रहेको सोही सडकखण्डका ईन्जिनीयर निरन्जन शर्मा अर्यालले जानकारी दिए ।

यस्तै सो सडकको फुटपाथमा भएका नाली छोप्ने सिमेन्टका स्ल्यावहरु भने भत्किएका छन् । सवारी चालकले मोटरसाईकल तथा आफ्ना सवारी त्यसमाथी चढाएर गुडाउँदा यस्तो भएको ईन्जिनीयर शर्माको दाबी थियो । पछिल्लो समय फुटपाथको कामलाई समेत तीव्र रुपमा अगाडि बढाइएको छ ।

चिनियाँ ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले ठेका लिएको सडक खण्डमा ठेकेदार कम्पनीले ३ ओटा मोटरेबल पुल तथा ३ ओटा आकाशे पुल बनाईदिने जिम्मा लिएको थियो भने अन्य ७ ओटा आकाशेपुल नेपाल सरकार आफैले बनाउने सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL