Logo

मुग्लिन–नारायणगढ सडक विस्तार अन्तिम चरणमा, दशैंमा अवरोध नहुने

मुग्लिन–नारायणगढ सडक विस्तार अन्तिम चरणमा, दशैंमा अवरोध नहुने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । निर्माणाधिन मुग्लिन–नारायणगढ सडकखण्ड विस्तार कार्य अन्तिम चरणमा पुगेको छ । सडकखण्ड विस्तार लगभग सकिएको सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । ‘मुग्लिन नजिकको ३ सय मिटर बाटो विस्तार गर्न बाँकी छ,’ उनले भने, ‘त्यसका लागि तिहार लगतै पर्खाल उठाएर काम शुरु गरिने छ ।’ दशैमा यात्रुहरुको चाप बढी हुने भएकोले पनि बाँकी विस्तारको काम तिहार पछि मात्र शुरु गरिने उनले जानकारी दिए ।

उनका अनुसार सो सडकखण्डको ३६ किलोमिटरमध्ये ३ सय मिटर बाटो मात्र विस्तारर गर्न बाँकी छ । चितवनको आँपटारी देखि मुग्लिनसम्मको सडक ९ देखि ११ मिटर चौडा पारिएको हो । सो सडकखण्ड १ सातादेखि निरन्तर रुपमा सुचारु भएको खनालले जानकारी दिए । त्यस्तै अव तत्काल अवोध नहुने समेत उनले जानकारी दिए । ‘धेरै नै ठूलो पानी परेमा के हुन्छ भन्न सकिन्न,’ उनले भने ‘अन्यथा सामान्य पानी परेको अवस्थामा बाटो अबरोध हुदैन ।’

यसैबीच यात्रुको सहजताका लागि आयोजनाले सूचना बोर्डको व्यवस्था गरेको छ । सो सडकखण्डमा सुख्खा पहिरो तथा पानी पर्दा पहिरो गएर बाटो बन्द हुने भएकाले बाटोको अवस्था बारे जानकारी दिन बोर्ड राखिएको हो । मुग्लिनदेखि आँपटारीसम्म ७ ओटा सूचना बोर्ड राखिएको खनालले जानकारी दिए । ‘बाटोको अवस्थाबारे जानकारी नहुँदा केही स्थानमा दुर्घटना भएका छन्,’ उनले भने, ‘पहिलोको बारेमा तत्काल सुचना प्रबाह गर्ने उद्देश्य अनुरुप ठाउँठाउँमा बोर्ड राखेको हौं ।’

उनका अनुसार एउटा सूचना बोर्ड राख्न करिब २२ लाख रूपैयाँ खर्च हन्छ । सातवटा सूचना बोर्डका लागि मात्रै १ करोड ५४ लाख रूपैयाँ खर्च भएको छ । सडक फराकिलो बनाउन ठाउँठाउँमा पहाड काट्दा बेलाबेलामा पहिरो जाने गरेको छ । नारायणगढ मुग्लिन सडक विस्तारको काम सन् २०१५ अप्रिल १९ तारिखबाट थालिएको हो । सो सडक खण्डको ३३ किलोमिटर सडक फराकिलो बनाउन आँपटारीदेखि दासढुङ्गासम्म भारतीय कम्पनी बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका थिए । सो खडकखण्ड विस्तारका लागि विश्व बैंकले २ अर्ब ९० करोड रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL