Logo

बर्षाले गौतमबुद्ध विमानस्थल निर्माण प्रभावित, २१ प्रतिशत काम सम्पन्न

बर्षाले गौतमबुद्ध विमानस्थल निर्माण प्रभावित, २१ प्रतिशत काम सम्पन्न


रक्षा रेग्मी
0
Shares

काठमाडौं । केही दिनदेखिको लगातारको बर्षका कारण भैरहवाको गौतमबुद्ध विमानस्थल स्तरोन्नतीमा प्रभाव पारेको छ । बर्षाले स्तरोन्नतीको ५५ प्रतिशत काम कटौती गर्न परेको विमानस्थल आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । ‘वर्षाका कारण निर्माण सम्वन्धी कुनै पनि काम हुन सकेको छैन,’ उनले भने, ‘अहिले रिभरव्याड मटेरियल, (ढुंगा, गिट्टी, बालुवा) ओसार पोसारको काम मात्र भएको छ ।’

शर्माका अनुसार वर्षाका कारण काम नभएपनि जनशक्ति समेत कटौती गरिएको छ । अगस्ट पछि मात्र पूर्णकालिन काम शुरु गरिने भएको छ । हालसम्म विमानस्थल स्तरोन्नतीको २२ प्रतिशत काम सम्पन्न भएको छ । जुन नेपाल सरकार र आयोजना प्रमुखवीच भएको कार्य सम्झौता भन्दा थोरै हो । आर्थिक बर्ष २०७२÷७३ मा २५ प्रतिशत सम्पन्न गर्ने सम्झौता भएकोमा २१ प्रतिशत काम सम्पन्न भएको उनले जानकारी दिए ।

हाल गौतमवुद्ध विमानस्थलको टर्मिनल भवन निर्माण कार्य भइरहेको छ । त्यस्तै रनवेको ३ हजार मिटर काम सकिएको छ भने घाग्रा खोला डाइभर्सनको काम समेत सम्पन्न भएको शर्माले जानकारी दिए । सम्झौता अनुसार विमानस्थल निर्माणकार्य सन् २०१७ जुनमा सकिने र २०१८ को जनवरीदेखि सञ्चालनमा आउने भनिएको थियो ।

लामो समयको तराई बन्द तथा भारतीय नाकाबन्दीले ४ महिना निर्माण कार्य ठप्प हुँदा सञ्चालनको मिति पर सरेको हो । त्यस्तै अधिकांश कामदार नुवाकोट, धादिङ तथा सिन्धुपाल्चोकका भएकोले भुकम्पका बेलामा पनि पूर्ण रुपमा काम भएको थिएन ।

विमानस्थलको स्तरोन्नती गत माघदेखि शुरु गरिएको हो । सो विमानस्थल निर्माणका लागि करीव ८ अर्व ५५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एशियाली बिकाश बैंकको आर्थिक सहयोगमा चिनीयाँ कम्पनी नर्थ वेष्ट सिभिल एभियसन एयरपोर्ट कंस्ट्रक्सनले विमानस्थल स्तरोन्नती काम गरिरहेको छ ।

विमानस्थलमा ६ ओटा अन्तराष्ट्रिय र चारवटा आन्तरिक उडानका जहाज पार्क गर्न सकिने छ । त्यस्तै ६ वटा अन्तरराष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्ने छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) को वैकल्पिक विमानस्थलको रुपमा  सो विमानस्थल  निर्माण गर्न लागिएको हो । उक्त विमानस्थल सञ्चालनमा आएसँगै गौतम बुद्ध विमानस्थलमा अहिले टीआईएमा अवतरण गरिरहेका सबै जहाज अवतरण गर्न सक्ने बताइएको छ ।

पछिल्लो समय मुलककै एकमात्र अन्तरराष्ट्रिय विमानस्थल टीआईए व्यस्त भएर कतिपय समयमा अन्तरराष्ट्रिय विमानहरु भारतमा लगेर ल्याण्ड गर्नुपर्ने बाध्यता छ । स्तरोन्नतीसँगै सो बाध्यता हट्ने छ । गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि टिआईएबाट हाल अवतरण भइरहेकामध्ये १० प्रतिशत जहाज अवतरण गर्ने अनुमान गरिएको छ । त्यसैगरी जिल्लाबाट वैदेशिक रोजगारीमा जानका लागि काठमाडौंसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास छ । लुम्बिनी भ्रमण गर्न आउन चाहने पर्यटकहरुलाई पनि सहज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL