Logo

नेपालका ९५ प्रतिशत घरधुरीसम्म विजुलीको पहुँच, तर हटेन खाना पकाउने परम्परागत चलन

नेपालका ९५ प्रतिशत घरधुरीसम्म विजुलीको पहुँच, तर हटेन खाना पकाउने परम्परागत चलन




काठमाडौं । नेपालका ९५ प्रतिशत जनतासम्म विजुलीको पहुँच पुगेको छ । विश्व बैंकले जारी गरेको एक अध्ययन प्रतिवेदनमा प्रति १ सय घरमध्ये ९५ घर विजुलीको पहुँचमा रहेको देखाएको हो । बैंकले सन २०१७ मा गरेको राष्ट्रिय सर्वेक्षण अनुसार १ सय घरमध्ये ७२ घरमा विना रोकावट पिक आवरमा विजुली बल्ने देखाएको छ ।

विश्व बैंकले नेपालमा विजुलीको पहुँच र गुणस्तरमा वृद्धि भईरहेपनि अझैपनि खाना पकाउनका लागि दाउरा र ईन्धनमा कमी आउन नसकिरहेको औंल्याएको छ । बैंकका अनुसार अझैपनि प्रति १ सय घरमा ७० घरधुरीले खाना पकाउनका लागि दाउरा र अन्य प्रदुषणयुक्त ईन्धनको प्रयोग गर्ने गरेका छन ।

हाल नेपाल सरकार नै प्रत्येक नेपालीका घरमा गुणस्तरयुक्त विद्युतको पहुँच पुर्याउन लागिपरेको छ । सन २०२३ सम्म शतप्रतिशत नेपालीको घरमा विद्युतको पहँुच पुर्याउने लक्ष्य रहेको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले जानकारी दिए ।

नेपालमा ६७ प्रतिशत घरधुरीसम्म दिनमा कम्तिमा ८ घण्टा पंखा, टिभी लगायत उपकरणहरु चलाउन सक्ने विजुली पुग्ने गरेकोे विश्व बैंकको सर्वेले देखाएको छ । बिश्व बैंकका अनुसार ७१ दशमलव ७ प्रतिशत घरधुरी राष्ट्रिय प्रशारण लाईनको पहुँचमा छन भने अन्य २३ प्रतिशत घरधुरीले साना जलविद्युत आयोजना, सोलार पावरलगायत बाट विद्युतको जोहो गर्ने गरेका छन ।

विश्व बैंकले गरेको उक्त अध्ययनपश्चात पनि नेपालले विद्युत पहुँचको क्षेत्रमा ठुलो फड्को मारिसकेको छ । सन २०१७ मा ७२ प्रतिशत घरधुरीसम्म पुगेको राष्ट्रिय प्रशारण लाईन हाल ७८ प्रतिशतसम्म पुगेको छ । देश लोडसेडिङ मुक्तसमेत भईसकेको छ ।

नेपालले गरेको उक्त प्रगतिप्रति आफु खुसी रहेको विश्व बैंक नेपालका कन्ट्री म्यानेजर फरीस एच. हदाद जर्भसले बताए । विश्व बैंकले नेपालमा गरेको उक्त सर्वेक्षण उर्जा पहुँचमा विश्व सर्वेक्षणको एउटा पाटो हो । नेपालमा भने पहिलोपटक यस्तो सर्वे गरिएको हो ।

नेपालमा उर्जामा यत्रो पहुँच भएपनि अझै ७३ प्रतिशतले घरधुरी दाउरा, गुईठा, छवाली, ग्याँस लगायतको प्रयोग गरिरहेको विश्व बैंकले देखाएको छ । जसले खासगरी महिला, बालबालिका लगायतमा धुवाका कारण घातक रोग निम्त्याउन सक्ने सम्भावना रहन्छ । यस्तै १७ प्रतिशत घरधुरीले भने खाना पकाउनका लागि आधुनिक उपकरणको उपयोग गर्ने गरेका छ ।

कालान्तरमा नेपालमा खाना पकाउनकै लागि बाहिरबाट आउने एलपी ग्याँसको परनिर्भरता हटाउन जरुरी छ । जसका लागि सरकारले प्रत्येक घरमा एक विजुली चुल्हो अनिवार्य हुनेगरी निति नै बनाउनुपर्ने वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले जानकारी दिए ।

विश्व बैंकले गरेको सर्वेक्षणमा उर्जाको पहुँच भएको क्षेत्रमा कम्तिमा पनि विहान ६ बजेदेखि बेलुका १० बजेसम्म विजुली बल्नु आवश्यक हुने सुझावसमेत दिईएको छ । यस्तै विजुली जाने आउने समस्याको पनि अन्त्य गर्न गुणस्तरिय उपकरण, ट्रान्सफर्मर लगायतको प्रयोग गरिनुपर्ने सर्वेेक्षणले देखाएको छ । यस्तै देशका केही कम आय भएका घरधुरीका लागि सरकारले कम मूल्यमै विजुली दिनुपर्ने समेत सर्वेक्षणले औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL