Logo

भ्रमण बर्ष सचिवालय र एनआरएनएबीच १७ बुँदे सम्झौता, एक नेपालीले एक विदेशी नेपाल पठाउने

भ्रमण बर्ष सचिवालय र एनआरएनएबीच १७ बुँदे सम्झौता, एक नेपालीले एक विदेशी नेपाल पठाउने



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच १७ बुँदे सम्झौता भएको छ । २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित सचिवालय र एनआएनएबीच आईतबार सम्झौता भएको हो । सम्झौता अनुसार एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन गर्ने छ ।

आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले सो सम्झौतामा हस्ताक्षर गरेका छन । गैर आवासीय नेपालीले पठाएको उक्त रेकर्ड भने दुवै पक्षले राख्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को उदघाटन १ जनवरीमा काठमाडौंमा हुने छ ।

समझदारीअनुसार संघले नेपाल भ्रमण वर्ष २०२० अवधिभर संघका विश्वभर गरिने औपचारिक सेमिनार, गोष्ठीलगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने छ । संघको आयोजनामा नेपालमा हुने विभिन्न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भूमिका सचिवालयले निर्वाह गर्ने छ ।

संघले विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सन् २०२० मा ‘स्पेन्ड होलिडे ईन नेपाल विथ फेमिली एण्ड फ्रेन्डस’ अर्थात् ‘परिवार र साथीहरुसँग नेपालमा विदा मनाऔं’ अभियान सञ्चालन गर्ने छ ।

संघले विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा भ्रमण वर्ष प्रवर्द्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्तिसमेत उपलब्ध गराउने छ । नेपाल भ्रमण २०२० को प्रचारका लागि संघले विश्वका प्रमुख शहरहरुमा कार तथा साइकल र्याली गर्ने छ ।

संघका विश्वभर रहेका सदस्य तथा विभिन्न नेपाली संघ संस्थामा आबद्ध नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात् व्यावसायिक साझेदार संघ संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्ने छ ।

गैर आवासीय नेपालीका विश्वभर रहेका व्यवसायिक फर्महरु तथा होटल रेष्टुँराहरुमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचारका सामग्रीहरु वितरण गर्ने समझदारी पनि भएको छ । साथै विश्वभर छरिएर रहेका सम्पूर्ण सदस्यलगायत नेपाली तथा विदेशी मित्रहरुको सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगोसहितको स्टिकर टाँस्ने व्यवस्था मिलाउने समझदारी पनि भएको छ ।

संघले विश्वभर मिस एनआरएन ईन्टरनेश्नल आयोजना गर्ने र प्रतियोगिताको नतिजा भने जुन महिना भित्रै नेपालमा गर्ने कार्यक्रम रहेको छ । साथै सचिवालयले सम्बन्धित देशका कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टुर अपरेटर, मिडियालगायतका कम्पनीहरु समक्ष आवश्यक छलफल गरी नेपालको प्रवर्द्धन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL