Logo

दशैं पछि परामर्शदाता नियुक्त गर्ने रेल विभागको तयारी, ७८ किलोमिटरमा ५७ आधुनिक स्टेशन निर्माण

दशैं पछि परामर्शदाता नियुक्त गर्ने रेल विभागको तयारी, ७८ किलोमिटरमा ५७ आधुनिक स्टेशन निर्माण



काठमाडौं । उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न रेल विभागले दशैं पछि परामर्शदाता नियुक्त गर्ने भएको छ । यस अघि ग्लोबल टेण्डर गरि ६ जना परामर्शदातालाई सर्टलिस्टमा लिएको विभागले मूल्याङकनको काम अन्तिम चरणमा पुगेको भन्दै दशै पछि परामर्शदाता नियुक्त गर्ने भएको हो ।

परामर्शदाता नियुक्तसँगै उपत्यकाको सातदोबाटो, रत्नपार्क हुँदै नारायणगोपाल चोकसम्मको मेट्रोलाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सुरु गर्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन ।

उपत्यकाको ५ स्थानमा मेट्रो रेल संचालन गर्न यस अघिनै सर्वे भए पनि डीपीआरको काम नहुँदा अन्य काम अघि बढ्न सकेको थिएन । परामर्शदाता नियुक्तसँगै थप काम अघि बढाउने गरि सबै तयारी गरिरहेको विभागले जानकारी दिएको छ ।

कुल ७८ किलोमिटर मध्य तत्कालको लागि १२ किलोमिटर मात्रै डिपिआर गर्ने मिश्रले जानकारी दिएका छन । उनका अनुसार डीपीआर पछि मात्रै लगानीको टुङ्गो लाग्ने छ ।

यस अघि तयार पारेको रिपोर्ट अनुसार प्रति किलोमिटर ३ अर्ब खर्च हुने अनुमान गरे पनि अहिले भने साढे ४ अर्बसम्म लाग्न सक्ने विभागको भनाइ रहेको छ । लगानी बोर्डले यो परियोजनाका लागि ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लगानी लाग्न सक्ने प्रक्षेपण गरेको छ ।

७८ किलोमिटर उक्त मार्गमा यात्रु चढाउन र ओराल्नको लागि ५७ ओटा आधुनिक स्टेशन निर्माण गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL