Logo

दशैंमा जनता रुवाउँदै ‘प्याज’, मौका छोप्दै व्यापारी

दशैंमा जनता रुवाउँदै ‘प्याज’, मौका छोप्दै व्यापारी



काठमाडौं । नेपालीहरुको महान चाड दशै, तिहार लगायतका पर्वहरु नजिकिँदै गर्दा खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । पछिल्लो समय विशेषगरी प्याजको मूल्यमा ३ गुणासम्म मूल्य वृद्धि भएको छ ।

कालिमाटी तरकारी बजारका अनुसार पछिल्लो १ महिनामा प्याजको मूल्य दोब्बरले बढ्न पुगेको छ भने उपभोक्ताले खुद्रा खरिद गर्दा तीन गुणासम्म बढ्न पुगेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

कालीमाटी तरकारी बजारको मूल्य सूची अनुसार भदौ ५ गते प्रतिकेजी ६५ रुपैयाँ रहेको प्याजको खुद्रा मूल्य असोज ५ सम्म आईपुग्दा बढेर प्रतिकेजी १ सय २५ रुपैयाँ पुगेको छ । भारतीय बजारमा प्याजको मूल्यमा धेरै घटबढ नहुँदा पनि नेपाली बजारमा भने एकाएक प्याजको मूल्यमा वृद्धि भएको छ ।

कालिमाटी, बल्खु लगायतका ठुला साना बजारमा प्याजको मूल्यमा भारी वृद्धि भएको छ । पछिल्लो समय लगातार ३ दिन परेको झरीको निहुँ गर्दै विचौलियाहरुले नै यसको मूल्य वृद्धि गरिरहेका उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार लगातार झरी पर्दा किसानले बारीमा फलेको तरकारी टिप्न नपाएको भन्दै उक्त निहुँमा लगातार प्याज लगायत तरकारीको मूल्य विचौलियाहरुले बढाएका हुन । ‘तरकारीको मूल्य एकाएक बढाउनुमा तरकारी विचौलियाका ३ देखि ४ तहको मूख्य हात छ,’ उनले भने, ‘यी तहहरुलाई नै सरकारले नियन्त्रण गर्न नसक्दा नै तरकारी र खासगरी प्याजको मूल्य लगातार बढेको छ ।’

तरकारीको मूल्य बढाउनमा मुख्य भुमिका खेल्ने विचौलियाका विभिन्न तहहरुलाई सरकारले नियन्त्रण गर्नुपर्ने उनको भनाई छ । तरकारी विचौलियाकै कारण हाल तितो करेला, रायोको साग पुदिना लगायतका तरकारीको मूल्य शत प्रतिशतभन्दा बढिले बढेको छ । गत भदौमा ६५ रुपैयाँ प्रतिकेजी रहेको रायोको सागको मूल्य असोज ५ गतेसम्म १ सय ७० रुपैयाँ पुगेको छ ।

पछिल्लो समय प्याजको मूल्य अनावश्यक रुपमा बढेसँगै तरकारी व्यापारीहरुलाई छलफलका लागि बोलाईएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । ‘दशै नजिकिएसँगै हामी केही दिनसम्म लत्ताकपडाको बजार अनुगमनमा लाग्यौं,’ उनले भने, ‘यहि मौकामा व्यापारीहरुले तरकारीको मूल्य बढाएका छन् ।’

पछिल्लो समय व्यापारीहरुले केही दिनको लगातारको बर्षातको कारण तरकारीको मूल्य वृद्धि भएको बताए प्याजको मूल्यमा आश्चर्यजनक रुपमा मूल्य वृद्धि भएको छ । ‘प्याजको अफसिजन भएका कारण अहिले व्यापारीहरुले प्याजको मूल्य बढ्न गएको बताउँदै आएका छन्,’ उनले भने, ‘अहिले कृतिम रुपमा प्याजको मूल्य जसरी बढ्न पुग्यो त्यस विषयमा छानविन गर्दैछौं ।’

यस्तै पछिल्लो १ महिनामा बोडी, लौका, भिण्डी, काक्रो, पालुङ्गोको साग लगायतका तरकारीहरुको मूल्य आकासिएको छ । तरकारीको बजारमा विचौलिया हावी हुँदा विभिन्न समयमा तरकारीको मूल्य आकासिने गरेको छ । यस्तै विचौलियाकै कारणले किसानहरुले आफ्नो मूल्य नपाउने र उपभोक्ताले मूल्य भन्दा बढी तिरेर तरकारी उपभोग गर्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL