Logo

४६ अर्बको बजेट ल्याउँदै प्राधिकरण, प्राथमिकतामा राष्ट्रिय गौरवको आयोजना

४६ अर्बको बजेट ल्याउँदै प्राधिकरण, प्राथमिकतामा राष्ट्रिय गौरवको आयोजना



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक बर्ष २०७६:७७ को लागि ४६ अर्बको बजेट ल्याउने तयारी गरेको छ । व्यवस्थापनले तयार पारेको उक्त बजेट संचालक समितिमा छिट्टै प्रस्ताव पेश गर्ने तयारीमा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरण अन्तरगतको राष्ट्रिय गौरवको आयोजनालाई मुख्य प्राथमिकतामा राखेर उक्त बजेट ल्याउने तयारीमा रहेको प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिएका छन ।

आव २०७५:७६ मा ४५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ बजेट कार्यान्वयन गरेको प्राधिकरणले चालु आवमा केही रकम वृद्धि गरी बजेट ल्याउने तयारी गरिरहेको छ । प्राधिकरणले निजगढ अन्तरराष्ट्रिय विमानस्थल, पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थललाई विशेष प्राथमिकतामा राखेर उक्त बजेट ल्याउने तयारी गरेको हो ।

विमानस्थलको आम्दानीको श्रोत भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, फ्लाईट सेफ्टी स्टयाण्डर्ड विभाग, विराटनगर, पोखरा, नेपालगंज नागरिक उड्डयन कार्यालय, गौतमबुद्ध विमानस्थल, भरतपुर, चन्द्रगढी, तेन्जिङ–हिलारी विमानस्थल प्रमुख रहेका छन ।

प्राधिकरणले प्रस्तुत गरेको उक्त बजेट पूर्ण नभएकाले संचालक समितिले फेदल गरी ल्याउन सक्ने भएकाले बजेटको आकार बढ्ने वा घट्ने अहिले केही भन्न नसकिने प्राधिकरणका महानिर्देशक राजनराज पोखरेलले जानकारी दिएका छन ।

हाल गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा रहेको छ भने पोखरा विमानस्थल २०२१ भन्दा अगाडीनै संचालनमा ल्याउने गरी कामलाई तिब्र बनाईएको छ । त्यस्तै निजगढ विमानस्थलको भने नीतिगत रुपमा भन्दा अन्य कुनै पनि काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL