Logo

भ्रमण वर्षमा अन्तरराष्ट्रिय मिडिया समिट गर्नेः मन्त्री बाँस्कोटा

भ्रमण वर्षमा अन्तरराष्ट्रिय मिडिया समिट गर्नेः मन्त्री बाँस्कोटा



काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘भ्रमण वर्ष’ २०२० मा नेपालमा अन्तरराष्ट्रिय मिडिया सम्मेलन समिट गरिने बताएका छन ।

मन्त्री बाँस्कोटाले नेपाल होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं ३ को प्रथम अधिवेशनलाई शनिबार काभ्रेपलाञ्चोकको बनेपामा सम्बोधन गर्दै उत्तः कुरा बताएका हुन । उनले भने, ‘भ्रमण वर्षका अवसरमा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई पार्टनर बनाएर अन्तरराष्ट्रिय मिडिया सम्मेलन गर्नेछ ।’

होटल तथा पर्यटन व्यवसायीलाई मिडिया समिटका लागि सरकारसँगै ‘लिड गर्न’ समेत उनले आग्रह गरेका छन । मन्त्री बास्कोटाले भने, ‘भिजिट ट्वान्टी ट्वान्टी भनेर तपाईंहरु पनि लिड गर्नुस, पक्कै सफल भइन्छ ।’ उनले सन २००८ मा थाइल्याण्डमा भएको बाढीको उदाहरण दिँदै त्यतिबेला थाइल्याण्ड सरकारले अन्तरराष्ट्रिय मिडिया समिट गर्दा खस्केको पर्यटन क्षेत्रमा व्यापक मात्रामा परिवर्तन भएको समेत स्मरण गराएका छन ।

मन्त्री बाँस्कोटाले संगठन, व्यवसाय, विकास, संवद्र्धन तथा राष्ट्रलाई टेवा र सुरक्षा पुर्याउने गरी योजना ल्याए सरकार होटल तथा पर्यटन व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताएका छन । ‘तपाईंहरुले बाह्य मात्रै होइन, आन्तरिक पर्यटनमा समेत ध्यान दिनुपर्दछ’, उनले भने, ‘अनुचित बार्गेनिङको विषयका निम्ति कुनै संघसंस्था बनाइरहनु राष्ट्रलाई अहितकर हुन्छ, बार्गेनिङ गरेर पाइन्छ भन्ने कुरा कसैले पनि नसोच्नुहोला ।’

मन्त्री बाँस्कोटाले भ्रमण वर्षका लागि सरकारले औपचारिकरूरुपमा मात्रै १० करोड रुपैयाँ छुट्याएको बताए । उनले भने, ‘भ्रमण वर्षका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्डलगायतले सहयोग गर्नेछन, हामी सबै भ्रमण वर्ष सफल पार्न आ–आफ्नो क्षेत्रबाट जुट्नुपर्दछ ।’

मन्त्री बाँस्कोटाले ठूला होटलको अवधारणा ल्याउनेका लागि सरकारले सडक, बिजुली, इन्टरनेटलगायत पूर्वाधारको विकास गर्ने बताएका छन । उनले भने, ‘ठूला होटल तथा पर्यटकीय संरचना तयार गर्न चाहनेलाई सरकारले आरक्षण क्षेत्रबाहेक उपयुक्त स्थानमा लिजमा पनि जमीन दिनसक्छ, योजना बनाएर आउनुहास ।’

त्यस्तै मन्त्री बाँस्कोटाले आजै धुलिखेल नगरपालिकाले निर्माण गर्ने सभाहलको समेत शिलान्यास गरेका छन । करीब ४ करोड रुपैयाँको लागतमा निर्माण हुने सभाहलको क्षमता ६ सय जना रहेको धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले जानकारी दिएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL