Logo

आईएमएफ बाट दिईन लागार्डले राजीनामा, यस्तो छ नयाँ कार्यकारी नियुक्तीको तयारी

आईएमएफ बाट दिईन लागार्डले राजीनामा, यस्तो छ नयाँ कार्यकारी नियुक्तीको तयारी



काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आगामी सेप्टेम्बर १२ बाट लागू हुनेगरी कोषका कार्यकारी प्रमुख क्रिस्टियन लागार्डले राजीनामा दिएको घोषणा गरेकी छन ।

लागार्डले युरोपेली केन्द्रीय बैंकको अध्यक्षमा मनोनयनका क्रममा रहेकाले मुद्रा कोषबाट राजीनामा दिएको मंगलबार घोषणा गरेकी हुन ।

उनको राजीनामासँगै आइएमएफको नयाँ कार्यकारी प्रमुखको खोजी हुन थालेको छ ।

लागार्डले भनेकी छन, ‘युरोपेली केन्द्रीय बैंकको अध्यक्षको रुपमा मेरो मनोनयनको प्रक्रिया शुरु भएको छ । मैले मुद्रा कोषको सर्वोत्तम हितका आधारमा यो निर्णय लिएकी छु । यसबाट कोषमा नयाँ कार्यकारी प्रमुख छनौट गर्ने बाटो खुला गर्न मद्दत गर्नेछ ।’

यसै महिनाको शुरुमा युरोपेली संघका नेताहरुले युरोपेली केन्द्रीय बैंकका प्रमुख मारियो ड्रागीको स्थानमा लागार्डलाई मनोनयन गर्ने घोषणा गरेका थिए । मारियोको आठ वर्षे कार्यकाल आगामी नोभेम्बरमा समाप्त हुँदैछ ।

लागार्ड पनि मुद्रा कोषको कार्यकारी प्रमुखको रुपमा सन् २०११ देखि कार्यरत छन । अन्तराष्ट्रिय मुद्रा कोषको प्रमुख कार्यकारी पनि युरोपेली मुलुकबाटै छनौट गर्ने परम्परा रहेको छ ।

कोषको बोर्डले दोस्रो स्थानमा अमेरिकी नागरिक डेभिड लिप्टनलाई मनोनयन गरेको छ, तर यो पदमा युरोपेली मुलुकको दाबी रहने गरेको छ । जबकी कोषको भगिनी संस्था विश्व बैंकको अध्यक्ष भने अमेरिकी नागरिक हुने प्रचलन रहेको छ ।

आइएमएफको बोर्डद्वारा जारी विज्ञप्तिमा लागार्डको निर्णय सार्वजनिक भइसकेकाले कोषको कार्यकारी बोर्डले तत्कालै नयाँ कार्यकारी व्यवस्थापकको नियुक्ति प्रक्रिया अगाडि बढाइने उल्लेख छ ।

लागार्डको स्थानमा क्यानाडाली नागरिक मार्क कार्नी, फ्रान्सेली राजनीतिज्ञ पियर मोस्कोभिसी र बेलायती पूर्व अर्थमन्त्री जर्ज अस्बोर्नको नाम सबैभन्दा बढी चर्चामा रहेको छ ।राससएएफपी

प्रतिक्रिया दिनुहोस्
MBL