Logo

तीन दिनमा सेयर लगानीकर्ताको ८० अर्ब गुम्यो, ८४० बाट बजार फर्कने अनुमान

तीन दिनमा सेयर लगानीकर्ताको ८० अर्ब गुम्यो, ८४० बाट बजार फर्कने अनुमान


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१३ जेठ, काठमाडौं । ‘पूँजीबजारका लगानीकर्ताले बजार खुलेको तिन दिनमै ८० अर्ब ३५ करोडको नोक्सानी बेहोरि सकेका छन् । लगानीकर्ताको मनोबल बढाउनको लागि सरकार र नियमक निकायले तत्काल उचित कदम नचालेको खण्डमा यसले दीर्घकालसम्म लगानीकर्ताको मनोबललाई असर पुग्ने देखिन्छ,’ बुधवार नेप्से खुल्नु १ घण्टाअघि सेयर लगानीकर्ता कम्पनी हाथ्वे इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबूकमा लेखे ।

बुधवार पनि बजार खुल्दावित्तीकैदेखि नेप्सेले वियरिश प्रबृत्ती जारी राख्यो । व्यापार सुरु भएको १ घण्टाभित्रै नेप्से परिसूचक १२ अङ्क घटिसेको छ । गत वैशाख १२ र त्यसपछि गएको भुकम्पका कारण अर्थतन्त्रमा ठूलो धक्का लाग्ने र कम्पनीहरुको वासलातमा गम्भिर असर पर्ने अनुमान गरेका लगानीकर्ताले सेयर विक्री चाप बढाएका छन् । भुकम्पपछि खुलेको बजारमा तीनदिनमै ७८ अंक घटेको नेप्से अझै ओरालो लागिरहेको छ । गत वैशाख १० मा ९ खर्ब ६३ अर्ब रुपैयाँ रहेको बजार पूँजीकरण गत मंगलवार ८ खर्ब ८३ अर्बमा झरेकोे छ । हुन त गत फागुन अन्तिम देखि नै बजार परिसूचक ओरालो लाग्न थालेको थियो । फागुन २४ मा १० खर्ब १४ अर्ब रुपैयाँ बजार पूँजीकरण भएको नेप्सेको आकार भुकम्प आउनु अघि नै ५१ अर्ब रुपैयाँ संकुचित भइसकेको थियो ।

यद्यपि, विश्लेषकहरु हालको अवस्थामा सेयर लगानीकर्ताहरु धेरै आत्तिनु नपर्ने बताउँछन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमल्सिना भन्छन्, ‘साना लगानीकर्ता केही तर्सिएको देखिन्छ, नियामक निकायले उनीहरुको मनोबल खस्कन नदिन थोरै मात्र प्रयास गर्ने हो भने बजार घट्ने क्रम रोकिने थियो ।’ उनका अनुसार बजारमा साना साना परिमाणमा सेयरको विक्री बढेको छ । पछिल्ला तीन दिन लगातार घटेका कम्पनीको सेयरमा बुधवारबाट माग बढ्न थालेको ब्रोकरहरुले पनि बताएका छन् ।

बैंक तथा वित्तीय संस्था, जलविद्युत् र जीवन बीमा कम्पनीहरुको सेयर एक तहसम्म सस्तिइसकेकाले अब बजारको वियरिश क्रम केही सुस्त हुँदै रोकिने विश्लेषण तिमल्सिनाको छ । ‘निर्जीवन बीमा कम्पनीबाहेक अरु समूहमा अब धेरै असर पर्ने देखिन्न,’ उनले थपे, ‘५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने सरकारी निर्णयले लघुवित्त कम्पनीहरुमा पनि ठूलो असर नपर्ने देखिएको छ ।’ उता सरकारले १० अर्ब रुपैयाँको कोष सहित बजार निर्माता तयार गर्ने बताएपछि लगानीकर्ताबीच आशाको सञ्चार भएको छ ।

विश्लेषकहरुले भुकम्पपछि करीब १ सय अंक बजार ओर्लने अनुमान गरेका छन्, जुन अब केही अंक घटेपछि पुरा हुन्छ । गत वैशाख १० मा ९ सय ३८ अंकमा रोकिएको नेप्से अहिले बुधवार दिउँसो १ बजेसम्ममा ८ सय ४८ अंकमा ओर्लिएको छ । अब परिसूचक करीब १० अंक घटेमा १ अंकको प्रक्ष्यपित गिरावट पुरा हुने छ । बजारको प्रबृत्ति हेर्दा पनि दिउँसो १२ बजेर २० मिनेटपछि परिसूचक करीब स्थिर रुपमा देखिएको छ । विस्तारै बढ्ने दिशामा परिसूचक अघि बढेको देखिएकाले आउँदा दिनमा नेप्से सुधारतर्फ लाग्नसक्ने सेयर लगानीकर्ता जयराम शर्मा बताउँछन् । ‘धेरै आत्तिनुपर्ने अवस्था देखिएको छैन,’ उनले भने, ‘बजार विस्तारै सुधारतर्फ जाने देखिन्छ ।’ बुधवारै एभरेष्ट बैंक, चिलिमे हाइड्रोपावर, नेपाल इन्भेष्टमेण्ट बैंक, एसबीआई बैंक लगायत कम्पनीको सेयर मूल्य बढ्न थालिसकेको छ । कारोबार रकम पनि सन्तोषजनक रुपमा बढेकाले आउँदादिनमा बजार परिसूचक सुधार हुने अनुमान लगानीकर्ताको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL