Logo

एकल विन्दु सेवाकेन्द्र उद्घाटनको दोस्रो दिन : न छन् कर्मचारी न आउँछन् सेवाग्राही

एकल विन्दु सेवाकेन्द्र उद्घाटनको दोस्रो दिन : न छन् कर्मचारी न आउँछन् सेवाग्राही



काठमाडौं । संचालनमा आएको दोस्रो दिन एकल विन्दु सेवा केन्द्रमा सेवाग्राहीको उपस्थिती सुन्य जस्तै थियो । उद्योगमन्त्री मातृका यादवले एक कार्यक्रमबीच उद्घाटन गरी बुधबार मात्रै संचालनमा ल्याएको उक्त केन्द्रमा विभिन्न १२ ओटा ईकाई छन । तर त्यसको भोलीपल्ट अर्थात बिहीबार ती ईकाईमा न सेवाग्राही छन् न त कर्मचारी नै ।

एकल विन्दु सेवाकेन्द्र भित्र प्रवेश गर्दा कर्मचारीका साथै सेवाग्राहीको उपस्थिती एकदमै न्यून देखिन्थ्यो । उद्योग विभागले उद्योग दर्तादेखि खारेजीसम्मको काम एकै स्थानमा उपलब्ध गराउने उद्देश्य अनुरुप एकल विन्दु सेवाकेन्द्र संचालनमा ल्याएपनि सेवाग्राहीको आकर्षण भने ज्यादै न्यून रहेको छ ।

विभागले विभिन्न ईकाई जस्तै भिषा सहजीकरण ईकाई, भन्सार तथा राजस्व ईकाई लगायत अन्य ईकाईमा कर्मचारी तोकेपनि सोही अनुरुप कर्मचारी हाजिर नभएकोे जानकारी दिएको छ । सम्पूर्ण जिम्मेवारी नै बहन गरेर विभिन्न निकायबाट कर्मचारी खटाईने हुनाले कर्मचारीको आउन ढिलाई भएको विभागका महानिर्देशक विनोदप्रकास सिंहले जानकारी दिए । ‘एकल विन्दु सेवाकेन्द्र हिजै मात्र संचालनमा आएकाले सेवाग्राहीको चाप न्युन छ,’ उनले भने, ‘सेवाग्राहीको चाप न्युन भएकै कारण विभिन्न ईकाईमा कर्मचारीको आवश्यकता नदेखिएकाले विभाग मातहतकै कर्मचारीबाट काम चलाईरहेका छौं, केन्द्रमा काम परे मात्रै जान्छन ।’

सेवाग्राहीको संख्या बढ्दै गएमा सोही अनुसार कर्मचारी खटाई काम अघि बढाइने विभागका प्रवक्ता जिवनराज सेढाईले जानकारी दिए । उद्योग दर्ता गर्दा हुने विभिन्न े झन्झट हटाई बैंक वित्तीय संस्थाको कामदेखि कम्पनी दर्तासम्मका सबै काम एकै स्थानबाट गर्ने उद्देश्यले सरकारले बुधबारदेखि एकल विन्दु सेवाकेन्द्र संचालनमा ल्याएको हो ।

उक्त केन्द्र संचालनमा आएपछि उत्साहित बनेका लगानीकर्ताहरुको सेवा लिनका लागि भने त्यति चासो देखिएन । सेवाग्राहीको चाप नभएकै कारण उक्त केन्द्रका १२ ओटा ईकाईमध्ये ८ ओटा ईकाईमा हालसम्म कर्मचारी समेत आएका छैनन् ।

उद्योग विभाग कानुन शाखा प्रमुख टंक महतले केन्द्रको प्रशासन तथा कानुन शाखाका प्रमुखको समेत जिम्मेवारी सम्हालेका छन । तर उनी केन्द्रमा नभई विभागको कानुन शाखामा बसेका छन । हाललाई केन्द्रमा काम नभएकाले विभागमै बसेको उनी बताउँछन् ।

यस्तै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका प्रमुख प्रशान्त बोहोरालाई पनि उक्त केन्द्रको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ईकाईको समेत जिम्मेवारी दिईएको छ । तर, उनी पनि केन्द्रमा नगई विभागबाटै काम गरिरहेका छन् ।

विभागले सम्पुर्ण सेवा एकै स्थानबाट दिने गरी राष्ट्र बैंक, जग्गा सहजिकरण, भन्सार तथा राजस्व लगायतका सेवा उक्त केन्द्रबाट सहजिकरण गर्ने छ । केन्द्रबाट सेवा लिन चाहाने सेवाग्राहीलाई जानकारी तथा आवश्यक सुचना दिन एक सुचना अधिकारी तोकिने भनिएको थियो । तर, हालसम्म कुनै पनि सुचना अधिकारी तोकिएको छैन ।

केन्द्रबाट कम्पनी, फर्म, उद्योग दर्ता, अनुमती, ईजाजत, स्थापना, नवीकरण, क्षमता वृद्धि र बहिर्गमन लगायतका कार्यहरु गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL