Logo

समयमै भुक्तानी नहुँदा गौतम बुद्ध विमानस्थल निर्माण अन्यौलमा, डिजेलको समस्या देखाउँदै चिनियाँ कम्पनीले रोक्यो काम

समयमै भुक्तानी नहुँदा गौतम बुद्ध विमानस्थल निर्माण अन्यौलमा, डिजेलको समस्या देखाउँदै चिनियाँ कम्पनीले रोक्यो काम



काठमाडौं । आईतबार देखि बन्द भएको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अन्यौलमा परेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतको राष्ट्रिय गौरब आयोजनाका प्रमुख प्रदिप अधिकारीले सोमबार देखिनै काम सुरु हुने बताएपनि चिनियाँ ठेकेदार नर्थवेस्टले डिजेल अभाब देखाउँदै काम रोकेको छ ।

नेपालका अन्य ठूला आयोजनामा देखिने रोगले गौतम बुद्ध विमानस्थललाई समेत अछुत राख्न सकेनन् । ठेकेदार कम्पनीले कहिले गिटी बालुवा त कहिले तेल अभाव भन्दै काम रोक्दै आएको छ ।

करिब १०÷१५ दिन देखि विभिन्न समस्या देखाउँदै आएको नर्थवेस्टले यही आईतबारदेखि सम्पूर्ण काम रोके पछि शनिबार राती नै अर्थ मन्त्रालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ७० करोड रुपैयाँ निकासा गरेको थियो ।

अर्थले स्वीकृत गरेको उक्त रकम बराबरको बील भर्पाइ एशियाली विकास कैंक (एडिबी) लाई पठाउनका लागि बाटो मात्रै खुलेकाले काम रोकिएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

उनका अनुसार सो रकम आउन ढिला भएमा प्राधिकरणमार्फत खर्च गर्न पाउने ३७ दशमलब ४ प्रतिशत रकमबाटै खर्च गरि काम अगाडी बढाउने तयारी समेत भईरहेको छ ।

तर पछिल्लो चरणका गतिविधिले गर्दा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधनसँगै उक्त विमानस्थलको काम पनि सुस्ताउने हो की भन्ने सम्बद्ध अधिकारीहरु बताउँछन ।

सो विमानस्थलको भौतिक निर्माण कार्य करिब ७२ प्रतिशत सम्पन्न भईसकेको छ भने ईलेक्ट्रिक लगायत सबै गर्दा भने ८० प्रतिशतको हाराहारीमा निर्माण कार्य सम्पन्न भईसकेको छ ।

उक्त विमानस्थलको धावन मार्गको तेस्रो तहको कालोपत्रेको काम सम्पन्न भएर चौथो तहको मात्रै ५ सय मिटर बाँकी रहेको छ । उक्त काम सम्पन्न गरे पछि मात्रै ट्याक्सी वेको काम गर्ने प्रमुख अधिकारीले बताएका छन ।

तर विमानस्थलको निर्माण कार्य तीब्र गतिमा अगाडी बढिरहेको बेला ठेकेदार कम्पनीले बिभिन्न बहानामा काम रोके पछि नेपालीको काम गर्ने तरिका नै परिवर्तन गर्नु पर्ने अधिकारीको भनाई रहेको छ ।

उनले भने, ‘हामी कागजी प्रकृयामा मात्रै समय खर्चिन्छौं निर्माणको बेला के कस्तो समस्या आउँछन त्यसमा ध्यान दिँदैनौं । माथिल्लो निकाय यस्मा गम्भिर भएर लाग्नु पर्ने हो तर त्यस्तो नदेखिँदा समस्या आईरहन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL