Logo

सेयर बजारमा सुरु भयो चलखेल : मारमा पर्दै साना लगानीकर्ता, परिसुचक र कारोबार रकम दुबै घटे

सेयर बजारमा सुरु भयो चलखेल : मारमा पर्दै साना लगानीकर्ता, परिसुचक र कारोबार रकम दुबै घटे



काठमाडौं । सेयर बजारमा पुनः च्याखेदाउ सुरु भएको छ । सोझा तथा साना लगानीकर्तालाई फसाउन समयसमयमा चलखेल हुने बजारमा अहिले पनि त्यहि प्रवृति हावी भएको छ ।

अघिल्लो दुई हप्ता दैनिकजसो दोहोरो अंकले बढाएर साना लगानीकर्तालाई आकर्षित गरेको बजारमा पुनः ठूला लगानीकर्ताले घटाएर सेयर बिक्री गर्न थालेको एक ब्रोकरले जानकारी दिएको छ ।

‘अघिल्लो दूई हप्ता केही ठूला लगानीकर्ताहरु राम्रो रकम लिएर बजार छिरे र सोही अनुरुप बजार पनि बढाए,’ उनले भने, ‘अहिले उनीहरुले क्षणिक नाफा बुक गरेर बजारबाट निस्कन थाले तर त्यतिवेला बजारमा छिरेका साना लगानीकर्ता भने मारमा परेका छन् ।’

ठूला लगानीकर्ताले घटाएर सेयर बिक्री गर्दा नेप्से परिसुचक १६ दशमलव ७१ अंकले घट्न पुगेको छ । अघिल्लो हप्ता बजारमा उच्च रुपमा बढेको बैंक तथा बीमा मसुहको परिसुचकमा उच्च गिरावट आउन थालेको छ । बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा आईतबार १६ अंकको गिरावट आएको छ भने बीमा समुहको परिसुचक पनि सोही अनुरुप घट्न पुगेको छ ।

पछिल्लो समय सेयर बजारमा समग्र परिसुचकमा वृद्धि वा गिरावट भन्दा पनि दैनिक रुपमा क्षेत्रगत रुपमा घटवढ भइरहेको छ । अघिल्लो दुई हप्ता बैंक र बीमा समुह बढेकोमा गत हप्ताबाट उत्पादनमुलक समुह त्यसमा पनि सिवम सिमेन्टको मूल्य बढेको थियो ।

तर, सो कम्पनीको सेयर पनि आजै प्रतिकित्ता ३ सय ७२ रुपैयाँसम्म पुर्याएर लगानीकर्ताले बजारमा ठूलो भोल्युममा फाल्न सुरु गरेको सम्बद्ध लगानीकर्ताले जानकारी दिए । ‘गत हप्ताको तुलनामा आज बजारमा शिमवको बिक्री चाप आएको थियो,’ ती ब्रोकरले भने । प्रतिकित्ता ३ सय ७२ रुपैयाँ पुगेको शिवम सिमेन्टको सेयर बन्द हूँदा ३ सय ५८ मा झरेर अडिएको छ ।

दोहोरो अंकले घटेको बजारमा अतिरिक्त र उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक घट्न पुगेका छन् । आईतबार जीवन बीमा समुहको परिसुचक १२७ अंकले घट्दा जविद्युत ५४, विकास बैंक १८, निर्जीवन बीमा २५, होटल १९ र माईक्रोफाइनान्स समुहको परिसुचकमा २७ अंकले गिरावट आएको छ ।

बजारमा परिसुचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । दैनिक पौने २ अर्ब रुपैयाँको कारोबार हुन पुगेको सेयर बजारमा आईतबार ६५ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । जसमा १ सय ७५ कम्पनीको २३ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL