Logo

जोखिमयुक्त संरचना हटाउन लाभग्राहीलाई निर्देशन, ३५ दिन भित्र नहटाए प्राधिकरण आफैंले हटाउने

जोखिमयुक्त संरचना हटाउन लाभग्राहीलाई निर्देशन, ३५ दिन भित्र नहटाए प्राधिकरण आफैंले हटाउने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त अवस्थाका जोखिमयुक्त संरचना हटाउन लाभग्राहीलाई निर्देशन दिएको छ ।

२०७२ वैशाख १२ मा गएको भूकम्प र त्यसपछिका पराकम्पका कारण भौतिक संरचना गुमाएकालाई लाभग्राही कायम गरी नयाँ संरचना बनाउन अनुदान उपलब्ध गराउँदै आएकाले जोखिम संरचना हटाउन प्राधिकरणले निर्देशन दिएको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन (अनुदान व्यवस्थापन तथा भौतिक पूर्वाधार) का प्रमुख गणेशराज ओस्तीका अनुसार अनुदान लिएर नयाँ घर बनाएका लाभग्राहीले भूकम्पले जोखिम बनाएका संरचनामा अझैसम्म बसोबास गर्दा थप जनधनको क्षति हुनसक्ने भन्दै त्यस्ता संरचना ३५ दिनभित्र हटाउन लाभग्राहीलाई प्राधिरकणले समयसीमा दिएको हो ।

कार्यालयमार्फत भूकम्प प्रभावित ३२ जिल्लामा भूकम्पका कारण घर क्षति ब्यहोरेकालाई नयाँ घर बनाउन ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

क्षतिग्रस्त र जोखिमयुक्त संरचनाको प्राविधिक जाँच गरेर त्यस्ता संरचना हटाउन तथा भत्काउन आदेश दिइसकेकाले कार्यान्वयनको चरणमा अघि बढेको प्राधिकरणले जानकारी दिएको छ । जारी गरेको सूचनालाई अटेर गरेमा कार्यालयले नै हटाएर त्यसवापत लाग्ने खर्च सम्बन्धित घरधनीबाट असुल गर्ने ओस्तीले जानकारी दिएका छन ।

नयाँघर निर्माण गरेका लाभग्राहीले हाल बनाएको घरमा बसोबासका लागि स्थान अभावलगायतका बाहनामा क्षतिग्रस्त संरचनाको भवन अझै प्रयोग गर्दै आएका अनुगमनमा पाएपछि त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL