Logo

थप दुई ब्रोकरले पाए मार्जिन कारोबार गर्ने अनुमति, किन ढिलाई गर्दै छ नेप्से

थप दुई ब्रोकरले पाए मार्जिन कारोबार गर्ने अनुमति, किन ढिलाई गर्दै छ नेप्से



काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई ओटा ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि स्वीकृति प्रदान गरेको छ ।

राष्ट्र बैंकले ब्रोकर नम्बर ३४ को भिजन सेक्युरिटीज र ३६ को सेक्युर्ड सेक्युरिटीजलाई मार्जिन कारोबारका लागि अनुमति प्रदान गरेको हो । यससँगै ३ ओटा ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्नका लागि राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेका छन् । यसअघि ५० नम्बर ब्रोकरलाई मार्जिन कारोबारका लागि स्वीकृति प्रदान गरेको थियो ।

नेप्सेले गत मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यबिधी,२०७५ लागु गर्दै ब्रोकरसँग आवेदन माग गरेको थियो । सोही अनुरुप मार्जिन कारोबारका लागि १ दर्जनभन्दा बढी ब्रोकर कम्पनीले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा आवदेन दिएका थिए । आवेदन दिएकामध्ये आवश्यक कागजात पुगेको आधारमा नेप्सेको सिफारिसमा राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंकले ५० नम्बर ब्रोकरलाई २०७५ सालमै मार्जिन कारोबारका लागि स्वीकृति दिएको थियो । तर, कम्तीमा ८÷१० वटा ब्रोकरलाई एकपटक कारोबार सहमति दिने उद्देश्य अनुरुप १÷२ वटा कम्पनीलाई मात्र कारोबार अनुमति नदिईएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । ‘हामी ब्रोकरलाई मार्जिन कारोबार गर्न सहमति दिनका लागि तयार छौं,’ उनले भने, ‘एकैपटक अलि धेरै कम्पनीलाई सहमति दिनका लागि पर्खिरहेका छौं ।’

उनका अनुसार मार्जिन कारोबारका लागि २५÷३० वटा कम्पनीले आवेदन दिएका थिए । त्यसमध्ये कागजात पुगेका सबै ब्रोकरलाई स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पठाइएको समेत साउदले जानकारी दिए ।

नेप्सेले ल्याएको मापदण्ड अनुसार ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार अनुमतिका पाउनका लागि लेखापरीक्षकबाट लेखापरीक्षण गराई खुद सम्पत्ति ५ करोडभन्दा बढी भएको एकीन गर्नुपर्नेछ । यस्ता कम्पनीहरुले आफ्नो नेटवर्थको दोब्बरसम्म मार्जिन कारोबार गर्नसक्ने छन । यसैगरी कार्य्विधिमा १० हजार भन्दा बढी शेयरधनी भएको, पछिल्लो २ बर्षसम्म १० प्रतिशतभन्दा बढी लाभांश दिई चुक्ता पुँजीभन्दा नेटवर्थ बढी भएको तथा अघिल्लो वर्षको साधारणसभा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेको र बजार खुलेको दिनमध्ये ८० प्रतिशत दिनमा सेयर कारोबार भएका कम्पनीका सेयरमात्र मार्जिन कारोबारका लागि योग्य हुनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL