Logo

पर्यटकीयस्थल घोडेपानी पुग्न नयाँ पदमार्ग निर्माण सुरु, क्यानोनिङ प्रचार गर्न घरबास कार्यक्रम

पर्यटकीयस्थल घोडेपानी पुग्न नयाँ पदमार्ग निर्माण सुरु, क्यानोनिङ प्रचार गर्न घरबास कार्यक्रम



काठमाडौं । पर्यटकीयस्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ पदमार्ग निर्माण सुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी जाने नयाँ पदमार्ग निर्माण सुरु गरिएको हो ।

हाल वीरेठाटी र म्याग्दीबाट घोडेपानी जाने गरिए पनि यो पदमार्ग निर्माणपछि घोडेपानी हुँदै अन्नपूर्ण ‘राउण्ड’ लगाउन सकिने भएको छ । कुश्मा–३ भारतीगाउँमा आयोजित एक कार्यक्रममा सांसद पदम गिरीले उक्त पदमार्गको शिलान्यास गरेका हुन ।

पोखराबाट साढे एक घण्टामा आम्बोट पुगिन्छ । आम्बोटबाट एक घण्टा ३० मिनेट पैदल हिँडेपछि क्यानोनिङस्थल पुग्न सकिन्छ । क्यानोनिङबाट ३० मिनेटको दूरीमा आकर्षक घरवास पनि सञ्चालनमा ल्याइएको छ । क्यानोनिङसम्म सवारी साधनमा जान पनि सकिन्छ तर पैदल जान चाहने पर्यटकका लागि नयाँ पदमार्ग निर्माण सुरु गरिएको हो ।

क्यानोनिङमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन नयाँ पदमार्ग निर्माण गरिएको हो । यो मार्गबाट अन्नपूर्ण फेरोमा पर्यटकलाई आकर्षित गर्न सकेमा साहसिक खेल क्यानोनिङको प्रचार हुने र वर्षेनी हजारौँले क्यानोनिङको मज्जा लिने क्यानोनिङ तथा पदमार्गका मुख्य अभियन्ता गोलमान गुरुङले बताए ।

उनले भने, ‘आम्बोट–दुर्लुङ हुँदै घोडेपानी जाने दुरी छोटो पर्छ, आकर्षक ठाउँ पनि छ, त्यसैले पर्यटक आकर्षित गर्न सहज हुनेछ ।’ यो पदमार्गमा केन्द्र सरकारको पर्यटन मन्त्रालयबाट चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन भएको छ । चालू आवमा यो रकमले ३ हजार ५ सय मिटर पदमार्ग निर्माण गर्ने तयारी भएको गुरुङले जानकारी दिए ।

सांसद गिरीले देशभरका १ सय पर्यटकिय गन्तव्यमध्ये दुर्लुङको क्यानोनिङ परेको र यसलाई नियमित चलाउन सकेमा दुर्लुङ पर्यटकीय क्षेत्र बन्ने बताएका छन । नयाँ पदमार्ग निर्माण भएपछि दुर्लुङमा पर्यटनको संख्यामा वृद्धि हुने र गाउँको आर्थिक समृद्धिका साथै रोजगारीमा समेत सघाउ पुग्ने सांसद गिरीले विस्वास ब्यक्त गरेका छन/ रासस

प्रतिक्रिया दिनुहोस्
MBL