Logo

१० प्रतिशत विन्दु घट्यो तलव, आम्दानी घटेपछि मुल्य बृद्धि नियन्त्रणमा

१० प्रतिशत विन्दु घट्यो तलव, आम्दानी घटेपछि मुल्य बृद्धि नियन्त्रणमा


रामराजा श्रेष्ठ
27
Shares

बैंक तथा वित्तीय संस्था, औद्योगिक क्षेत्र र अन्य निजी क्षेत्रमा काम गर्ने कर्मचारीको वास्तविक आय (तलब) घटेको छ ।

(तस्विर फेसवुक पेजबाट)

laxmi

बिजखबर संवाददाता 

१० वैशाख, काठमाडौं ।चालू आर्थिक वर्ष २०७१/७२ मा कर्मचारी तथा मजदुरको आम्दानी बृद्धिदर गत वर्षको भन्दा १० दशमलव १ प्रतिशत विन्दुले घटेको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको यस आर्थिक वर्षको पहिलो ८ महिनाको आर्थिक तथ्याङ्कले यस्तो देखाएको हो ।

पछिल्लो एक वर्षमा निर्माण मजदुरको ज्यालादर सर्वाधिक ११ प्रतिशत बढेको छ । त्यसमा पनि सिकर्मी (काठको काम गर्ने) को ज्यालादर ११ दशमलव २ प्रतिशत बढेको केन्द्रिय बैङ्कको तथ्याङ्क छ । कृषि क्षेत्रको ज्यालादर ७ दशमलव ९ प्रतिशत बढेको देखिए पनि महिलाको ज्यालादर ३ दशमलव ९ प्रतिशतमात्र बढेको तथ्याङ्कमा देखिन्छ । जबकी पुरुष कामदारको ज्याला १२ प्रतिशत बढेको छ । यसले ज्यालादरमा महिला र पुरुषको विभेद झन चुलिएको देखिएको छ । तर, धेरै पुरुष वैदेशिक रोजगारीमा गएकाले पुरुषले गर्ने काममा श्रमिक अभाव भएर ज्यालादर बढेको हुनसक्छ ।

यस अवधिमा औद्योगिक मजदुरको ज्यालादर भने २ दशमलव ७ प्रतिशतमात्र बढेको छ । त्यस्तै तलबमा कामगर्नेमध्ये निजामति कर्मचारीको तलब सबभन्दा धेरै बढेको छ भने त्यसपछि शिक्षा क्षेत्रमा कर्मचारी र सेना तथा प्रहरीको आम्दानी धेरै बढेको देखिन्छ ।

पछिल्लो एक वर्षमा बैङ्क तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीको तलब मान ४ दशमलव ३ प्रतिशतले मात्रै बढेको छ । निजी क्षेत्रका कम्पनीमा काम गर्ने कर्मचारीको तलब त गतवर्षको तुलनामा स्थिर देखिन्छ ।

राष्ट्र बैंककै तथ्यांक अनुसार चालू आवको ८ महिनामा उपभोक्ता मुद्रस्फिति ७ प्रतिशत रहेको देखिन्छ । यस आधारमा एकातिर तलब तथा ज्याला न्यून दरले बढेका कारण मूल्य नियन्त्रण भएको देखिन्छ । अर्कोतिर, बैंक तथा वित्तीय संस्था, औद्योगिक क्षेत्र र अन्य निजी क्षेत्रमा काम गर्ने कर्मचारीको वास्तविक आय (तलब) घटेको देखिन्छ । अर्थशास्त्रको सामान्य सिद्धान्त अनुसार मूल्य बृद्धिभन्दा तलबको बृद्धिदर कम हुनु भनेको तलब घट्नु हो ।

चालू आवको पहिलो ८ महिनामा नगद प्रवाह समेत गत वर्षभन्दा ३ दशमलव ५ प्रतिशतविन्दु घटेर १२ प्रतिशतमा सीमित भएको छ । यस अवधिमा विस्तृत मुद्रा प्रदाय ८ दशमलव १ प्रतिशत बढेको छ । जुन गत वर्ष १० दशमलव ८ प्रतिशत बढेको थियो । यो वर्ष नेपाल राष्ट्र बैंकले १ खर्ब २७ अर्ब ६२ करोड नगद बजारमा प्रवाह गरेको छ । गत वर्ष केन्द्रिय बैंकले १ खर्ब ४२ अर्ब १५ करोड प्रवाह गरेको थियो ।

यो वर्ष तलब तथा ज्यालादरमा आएको कमी, सरकारी खर्च कम हुनु र विप्रेषण आयको बृद्धि पनि कम हुनुले मुद्रा प्रदाय पनि गत वर्षभन्दा कम भएको छ । यसै अवधिमा नेपाल भित्रिने विप्रेषण रकम गत वर्षको तुलनामा ४ प्रतिशत बढेर ३ खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बजारमा पैसाको प्रवाह नै कम भएपछि मूल्य नियन्त्रण हुनु स्वभाविक हुन्छ । अर्कोतिर विश्वबजारमा कच्चा तेलको मूल्य सस्तिएकाले पनि नेपाली बजारमा मूल्य नियन्त्रण गर्न सहयोग पुगेको राष्ट्र बैङ्कका बुझाइ छ । तर, तेलको मूल्य सस्तिदा निर्माण कार्यमा बृद्धि हुनुपर्ने हो । औद्योगिक मजदुरको तलब पनि बढ्नुपर्ने हो । त्यस्तो असर चाहिँ परेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL