Logo

वैदेशिक रोजगारीमा जाने कामदार घट्दा रेमिटेन्स आप्रवाहमा अप्रत्यासित वृद्धि, यस्ता छन् कारण

वैदेशिक रोजगारीमा जाने कामदार घट्दा रेमिटेन्स आप्रवाहमा अप्रत्यासित वृद्धि, यस्ता छन् कारण



काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च गिरावट आएपनि ठिक त्यसको विपरित नेपाल भित्र्ने रेमिटेन्समा भने वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ६ महिनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ३९ प्रतिशतले गिरावट आएको छ । तर, ठिक त्यसको विपरित नेपाल भित्र्ने रेमिटेन्समा भने ३० दशमलव २ प्रतिशतले बढ्न पुगेको छ ।

पछिल्लो समय नेपाल भित्र्ने रेमिटेन्स बैधानिक च्यानलबाट आउने क्रम बढेको र सोही अनुसार अमेरिकी डलरको मूल्यमा पनि वृद्धि भएको कारण देशमा भित्रने रेमिटेन्समा उच्च वृद्धि भएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणकर भट्टले जानकारी दिए । ‘अहिले अमेरिका, कोरिया, भारतजस्ता मुलुकबाट भित्र्ने रेमिटेन्स अप्रत्यासित रुपमा बढेको छ जुन देशबाट पहिला एकदमै न्यून मात्रामा रेमिटेन्स आउथ्यो,’ उनले भने, ‘पछिल्लो समय धेरै देशबाट बैधानिक प्रणालीबाट रेमिटेन्स भित्रिएपछि बढ्न पुगेको हो ।’

यसैगरी केही समयअघिसम्म सुनलगायत अन्य बस्तुमार्फत अबैधानिक रुपमा रेमिटेन्स भित्र्ने गरेकोमा सरकारले त्यसलाई कडाई गरेसँगै त्यसरी भित्र्ने त्यस्ता रकम समेत बैंकिङ प्रणालीमार्फत आउन थालेको भट्टले जानकारी दिए । ‘अहिले बैधानिक प्रणालीमार्फत रेमिटेन्स ल्याउन सरकारले धेरै पहल गरेको छ,’ उनले भने, ‘जसको फलस्वरुप वैदेशिक रोजगारीमा जाने कामदार घटेपनि नेपाल भित्र्ने रेमिटेन्स भने बढ्न पुगेको हो ।’ साथै नेपाली रोजगारीमा गएका देशमा उनीहरुको तलबमानमा वृद्धि र ती देशको मुद्राको मूल्य समेत बढेकाले नेपाल भित्र्ने रेमिटेन्समा वृद्धि भएको उनको तर्क थियो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको ६ महिनामा रेमिटेन्स आप्रबाह ३० प्रतिशतले बढेर ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सुन्य दशमलव ५ प्रतिशतले घटेको थियो । तर, सो अबधिमा अन्तिम श्रम स्वीकृतिको आधारमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा भने ३९ प्रतिशतले गिरावट आएको छ ।
नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष तथा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल पनि पछिल्लो समय बैंकिङ प्रणालीबाट रेमिटेन्स भित्रने गरेकाले आप्रबाह बढेको बताउँछन् ।

‘अहिले बैंक तथा रेमिटेन्स कम्पनीहरुले आफ्नो दायरालाई फराकिलो बनाउँदै धेरै देशमा पुगिसकेका छन्,’ उनले भने, ‘जसका कारण देशमा बैंकिङ प्रणालीबाट भित्र्ने रेमिटेन्स वृद्धिदर बढ्न पुगेको हो ।’ साथै गत अबको सोही अबधिको तुलनामा विदेशी मुद्राको वृद्धिदर समेत उच्च रुपमा बढेकाले नेपाल भित्र्ने रेमिटेन्स बढेको उनको जानकारी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL